माओवादीका कोशी प्रदेश सदस्य वासु दुलाल लगायतद्वारा पार्टी परित्याग

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जन जनमा माओवादी, घरघरमा माओवादी’ अभियान चलाइरहेको बेला झापामा भने नेताहरूले माओवादी पार्टी परित्याग गरेका छन् ।

माओवादी केन्द्रका कोशी प्रदेश सदस्य वासु दुलाल, वाईसीएल बिर्तामोड नगर संयोजक सुदिप खवास लगायतले सो पार्टी छाड्नुभएको छ । बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी उहाँहरूले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।

पार्टीभित्रको अराजकता, विसंगति र अराजनैतिक गतिविधिले भद्रगोल भएकोको कारण चरम निराशा बढेको उहाँहरूले बताउनुभएको छ । उहाँहरूले नेतृत्वको जीवनशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।

सत्ता केन्द्रित राजनीतिले कार्यकर्ता र जनतामा चरम निराशा उत्पन्न गराएको उहाँहरूले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।   गैरकम्युनिष्ट बाहेकका पार्टीबिच तत्काल एकता कायम गरी समाजवादी कम्युनिस्ट केन्द्र निर्माण गर्न जनस्तरबाट दबाब दिन पार्टीबाट राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ । ‘आजसम्मको सहकार्य र विश्वासको निम्ति नेतृत्वप्रति आभारी, जनतासँग निरन्तर दुःख र सुखमा जोडिने बाचा गर्दै समाजवादी क्रान्तिको निम्ति जीवनपर्यन्त लागिरहने प्रतिबद्धता व्यक्त गर्दै निजी मुख सुविधा पद प्राप्ति हाम्रो लागि गौण भएको स्पष्ट गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।