मुस्ताङ लोमान्थाङ: राजाका छोराको बिहेमा गाउँपालिकामा सार्वजनिक बिदा

पर्वत : मुस्ताङको लोमान्थाङ गाउँपालिकाले राजाका छोराको बिहेको अवसरमा सोमबार गाउँपालिकामा सार्वजनिक बिदाको घोषणा गरेको छ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टेसि न्हर्क गुरुङद्वारा जारी सूचनामा मुस्ताङका ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर बिष्टको विवाहको उत्सव मनाउन लागिएकाले सार्वजनिक बिदा दिइएको हो।

विष्टको विवाह उत्सवको अवसर लोमान्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रमका साथ मनाउन लागिएकोले सोमबार गाँउ कार्यपालिकाको कार्यालय मातहतका सम्पूर्ण कार्यालयहरू तथा शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिइएको हो।

गाउँपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायका अनुसार राजाका छोरा झिग्मी धिण्डुपको विवाह सोमबार हुने भए पनि उनको विवाहको उत्सव भने ३ दिनसम्म मनाइन्छ।

मुस्ताङमा अझै पनि राजालाई उच्च सम्मान गर्ने तथा विशेष कार्यक्रमहरूमा उपस्थित गराएर कामको शुभारम्भ गर्ने चलन रहिआएको उनले बताए।

स्थानीय नागरिकले राजालाई धार्मिक एवं सांस्कृतिक रूपमा विशेष सम्मानका साथ हेर्ने भएकोले स्थानीय धर्म र परम्पराको मागअनुसार एक दिनका लागि सार्वजनिक बिदा दिइएको उनले बताए।

‘विवाह भोलि सुरु भएर ३ दिनसम्म चल्छ। यहाँ तिजी पर्व, तोरन्ल्ह, क्यामसुन, र्‍यातुङ  (घोडा दौड प्रतियोगिता), लगायतका विभिन्न पर्वहरू मनाउने गरिएका छन्’, प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भने, ‘ती कार्यक्रमहरूमा राजालाई बोलाएर विशेष खानाहरू खुवाएर उच्च सम्मान गर्ने प्रचलन रहेको छ। यहाँ धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू गर्दा राजाको उपस्थितिमा गर्ने चलन रहेको छ। वसन्तपुर दरबारमा राष्ट्रपति सहभागी भएजस्तै यहाँको विशेष कार्यक्रमहरूमा राजाको उपस्थिति हुने गरेको छ।’

झिग्मी सिङ्घी पलवर विष्ट मुस्ताङका अन्तिम राजा हुन्। उनको शासनकाल सन् १९६४ देखि सन् २००८ सम्म गरी ४४ वर्षसम्म रहेको थियो।

गणतन्त्रको घोषणासँगै शाही अधिकार खारेज भएपश्चात् यहाँ पनि राजतन्त्र समाप्त भएको थियो। लो वंशका विष्ट श्री श्री श्री राजा आङ्गुन तेन्जिङ त्रान्दुलका साहिँला छोरा हुन्।