अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति

धनगढी –अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–१ को मुख्य बजार क्षेत्रमा मंगलबार साँझ भीषण आगलागी हुँदा झन्डै सात करोड रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार आगलागीबाट २७ वटा घर र ११ वटा पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। तीमध्ये १० वटा ढुङ्गा र माटोले बनेका, ११ वटा जस्तापाताका छाना भएका र २ वटा पक्की घर रहेका छन्।

डीएसपी भण्डारीले प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा करिब तीन सय घरपरिवार प्रभावित भएको जानकारी दिए। ‘प्रारम्भिक छानबिन भइरहेको छ। अहिले पनि घटनास्थलमा धुवाँ आइरहेको छ र पूर्ण रूपमा आगो निभेको छैन’, उनले भने।
प्रहरी टोली र प्रमुख जिल्ला अधिकारीसहितको समन्वय टोली हाल घटनास्थलमै खटिएको छ। आगलागी मंगलबार साँझ करिब सात बजे पुष्पराज शर्माको घरको ग्यास सिलिन्डर विस्फोट भएपछि सुरु भएको थियो। आगो तत्कालै आसपासका अन्य घर र पसलहरूमा फैलिएको थियो।
मंगलसेन नगरपालिकाको दमकल, सुरक्षाकर्मी तथा स्थानीयवासीको प्रयासमा आगो राति १२ बजेतिर नियन्त्रणमा लिइएको हो। यद्यपि पूर्ण रूपमा निभिन भने अझै समय लाग्ने प्रहरीको भनाइ छ।
डिएसपी भण्डारीका अनुसार क्षतिको विस्तृत विवरण सङ्कलनको कार्य अझै जारी रहेको छ। गाउँपालिकाको विपद् व्यवस्थापन टिमसँग समन्वय गरी प्रभावितलाई सहयोगका उपायहरू खोजिने जनाइएको छ।