प्रज्ञा–प्रतिष्ठानमा मातृभाषा साहित्य शृङ्खला सुरु हुने

काठमाडौँ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (मातृभाषा ) विभागले प्रत्येक महिनाको अन्तिम शुक्रवार “मातृभाषाको साहित्य“विषयक शृङ्खला सञ्चालन गर्दैछ ।यस शृङ्खलामा विभिन्न मातृभाषामा रचिएका सिर्जनाहरूको विधागत इतिहास र विश्लेषण गर्ने छ । साथै,मातृभाषा साहित्यको उत्थान, चुनौती र सम्भावनाका बारेमा विशद् संवाद र विमर्श हुनेछ । प्रज्ञा–प्रतिष्ठानको यस प्रयत्नले मातृभाषा साहित्यको उत्थान,पूनर्जागरण, संरक्षण र संवर्धानमा कोशेढुङ्गा साबित हुने छ ।

यस बारेमा प्रज्ञा–प्रतिष्ठानका कुलपति माननीय भूपाल राईले सबै भाषा ,सबै ज्ञान सबैको प्रज्ञा–प्रतिष्ठान भन्ने उद्वेश्यका साथ “सम्पूर्ण जातजातिका भाषाभाषीलाई समावेशी सिद्धान्तअनुसार प्रज्ञा–प्रतिष्ठानले अघि बढाउन र किनारीकृत समुदायको भाषा र साहित्यलाई मूलधारमा ल्याउनका लागि मातृभाषा साहित्य शृङ्खलाको सुरुवात गर्न लागिएको हो“ भन्नुभयो ।

यसै क्रममा प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले “हाम्रो मुलुकमा राज्यका आधिकारिक निकायहरूबाट धेरै टाढा रहेर मातृभाषाको संरक्षण र संवर्ध्दनका लागि जीवनभर लागिरहनुभएका विद्वानहरू हुनुहुन्छ । समुदायले आफ्नै मात्र बलबुतोमा योगदान दिइरहनुभएको छ । यसमा अझ हौसला मिलोस्, उहाँहरूलाई हामी एक्लै छैनौँ, सबै सँगै छौँ, साथसाथै छौँ भन्ने अनुभूति पनि रहोस् ।

सीमान्तमा रहेका, लोपोन्मुख भाषाहरूलाई कुनै न कुनै रूपमा सम्बोधन गर्न सकियोस् । लेख्य रूपमा विकास नभएका भए पनि जति हुनुहुन्छ, ती वक्ताहरू (उहाँहरू)सित तत् भाषाको सौन्दर्य जरूर हुन्छ । त्यसलाई कम्तिमा दस्ताबेजीकरण गर्न सकियोस् । प्रज्ञा–प्रतिष्ठानलाई सबैले आफ्नो ठान्ने सकारात्मक भाव पैदा होस् भन्ने हाम्रो ध्येय हो । यसो गर्नु हाम्रो दायित्व र कर्तव्य दुवै हो भने मातृभाषी समुदायको हक हो“ भन्नुभयो ।