परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडाैं । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत छन् सोङ​बीच भेटवार्ता भएकाे छ ।

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच बिहीबार भेटवार्ता भएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ । उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठले जिम्मेवारी सम्हालेको दोस्रो दिन नै राजदूत सोङले परराष्ट्र मन्त्रालय पुगेर उहाँसँग भेटवार्ता गर्नुभएकाे हाे ।

भेटमा दुई मुलुकबीचको सम्बन्धका विविध आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ राजदूत सोङले मन्त्री श्रेष्ठसँग भेट गर्न पाएकोमा खुसी व्यक्त गर्दै द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा गहिरो र मैत्रीपूर्ण कुराकानी भएको जनाएका छन् ।

यसअघि आजै भारतीय राजदूत नविन श्रीवास्तवले पनि उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग मन्त्रालय पुगेर भेट गरेका थिए ।