काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक, आसन्न अमेरिका तथा चीन भ्रमणलगायतका विषयमा छलफल भएको बताइएको छ। भेटमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागि रहेको बालुवाटार श्रोतले जनाएको छ।
प्रधानमन्त्री प्रचण्ड विराटनगरबाट फर्किए लगत्तै भेटवार्ता भएको हो। प्रधानमन्त्रीले अड्किएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐनको संशोधन विधेयकमाथि सहमति जुटाउने प्रयास गरिरहेका छन्। त्यसविषयमा पनि छलफल भएको बताइएको छ ।
यसअघि प्रचण्डले टिआरसी विधेयककै विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए। विपक्षी दल नेकपा एमालेले विधेयकमा भएका विवादास्पद विषयलाई परिमार्जन गर्नुपर्ने माग गरेपछि सहमति जुट्न नसकेको हो।
माअोवादी केन्द्र यो विधेयकलाई चाँडै टुंगोमा पुर्याउन चाहन्छ, त्यो पनि हुबहु। यता विपक्षी दल संक्रमणकालीन न्यायको जटिल विषयलाई मेलमिलापका हिसाबले टुंगो लगाउन नहुने पक्षमा छ।
पछिल्लो समयमा गृहमन्त्री श्रेष्ठको गतिविधिप्रति सत्ता गठबन्धन दल नेपाली कांग्रेसका नेताबाटै प्रश्न उठिरहेको सन्दर्भमा भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ।