संघीय संसद्का ६ वटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिका बैठक बस्दै छन् । बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा नेपालको पुँजी बजार सम्बन्धी समसामयिक विषयमा धितो पत्र बोर्डसँग छलफल गर्ने कार्यक्रम छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुनेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सिंहदरबारमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे समितिको हल सिंहदरबारमा बस्नेछ । बैठकमा पुरातात्विक महत्वका सम्पदाहरूको अवस्था र ग्यालरी बैठकभित्र रहेका पुरातात्विक वस्तुहरूको संरक्षण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ः३० बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यक्रम छ ।