काठमाडौं । सोमबार संघीय संसद्का पाँच वटा संसदीय समितिका बैठक बस्दै छन् ।
बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ ।
बैठकमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवसायको आवश्यकता सम्बन्धमा सङ्कल्प प्रस्ताव कार्यान्वयन अनुगमन उपसमितिबाट समिति समक्ष पेस भएको प्रतिवेदन उपर पनि छलफल हुनेछ ।
त्यस्तै राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः३० बजे बस्दै छ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनमा वन क्षेत्र र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित समस्या सम्बन्धमा छलफल हुनेछ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १२ बजे बस्दै छ । बैठकमा आत्महत्या रोकथाम सम्बन्धमा समितिबाट भएको निर्देशन कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ ।
दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ताहरूसँग छलफल हुनेछ ।
दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुनेछ ।