फागुन ७’ नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अंकित छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशक भन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को शुभकामना दिँदै राष्ट्रपति पौडेलले लामो संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्रको स्थापना र जनता आफैँले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग २००७ सालको क्रान्ति थियो भन्ने बिर्सन नहुने बताए ।
‘निरङ्कुशताविरुद्धको बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप मानव अधिकार तथा राजनैतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाउँछौँ,’ राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अंकित छ ।’
आजको यस दिनले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई लोकतान्त्रिक मूल्य, मान्यताहरू अवलम्बन गर्दै जनअपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्ने विश्वास लिएको पनि राष्ट्रपति पौडेलले जनाएका छन् ।