हिल्टन होटलमाथि महानगरको छानविन

काठमाडौं । काठमाडौंको नक्सालमा खुलेको पाँच तारे होटल हिल्टनमाथि काठमाडौं महानगरपालिकाले छानविन थालेको छ ।एकातर्फ सो होटलबाट प्रहरी मुख्यालयलाई नै सुरक्षा जोखिम बढेको र अर्कोतर्फ नक्सापास समेत नभएको खुलेपछि छानविन अघि बढाएको हो ।१५ तले सो होटलको नक्सापास नै छैन । सहरी व्यवस्थापन विभागकी प्रमुख अर्चना श्रेष्ठका अनुसार हिल्टन होटलको भवनको नक्सापास गरेको देखिएको छैन ।नक्सापास नगरिएको भवनमा व्यवसाय गर्न नमिल्ने प्रावधान छ । सोही कारण होटललाई पत्र लेख्ने तयारी भइरहेको महानगरका एक अधिकारीले बताए ।
स्रोतका अनुसार नन्क्सापासका लागि छुट्याउनुपर्ने खाली जग्गा होटलसँगै छैन । तर, सो होटल एक महिनाअघि नै सेवा दिन थालिसकेको छ ।
अनेक विवादमा परेको शंकर ग्रुपले यसरी नियम मिचेर होटल बनाएको हो । चर्चित अमेरिकी चेन होटल हिल्टनको ब्राण्डमा होटल खोलिएकोमा नक्सापास समेत नभएपछि अब हिल्टनको ब्रान्डमा समेत धक्का लागेको छ।सो होटलबाट प्रहरी मुख्यालयलाई समेत जोखिम बढेपछि गृह मन्त्रालयमा यस विषयमा छलफल सुरु भएको छ ।
होटलको छतबाट प्रहरी प्रधान कार्यालय ‘फायरिङ रेञ्ज’ मा छ भने मुख्यालयका सबै गतिविधि देख्न सकिन्छ ।जसकारण उच्च प्रहरी अधिकारीले यसमा चासो व्यक्त गरेका छन् ।त्यसो त सो होटल बनाउने क्रममै सडक समेत भासिएको थियो । सानो जग्गामा अग्लो होटल बनाएपछि सडक भासिएको हो ।