राष्ट्रपतिको पेन्सन योजनाको विरोध गर्दै लाखौँ फ्रान्सेली उत्रिए सडकमा

निवृत्तिभरणको प्रस्तावित नयाँ नियम र अनिवार्य अवकाश हुने उमेर बढाएको विरोधमा फ्रान्स देशभर व्यापक विरोध प्रदर्शन भएको छ।

बिहीबार साँझ (स्थानीय समयअनुसार) १० लाख भन्दा बढी नागरिक जुलुसमा सहभागी भए भने केही प्रदर्शनकारीले प्रहरीसँग झडपसमेत गरे। देशव्यापी हडतालले सार्वजनिक यातायात, विद्यालय र अधिकांश सरकारी कार्यालयको काम अवरुद्ध भयो।

गृह मन्त्रालयले १२ लाख सर्वसाधारण सडकमा उत्रिएका र राजधानी पेरिसमा ८० हजार मानिस विरोध प्रदर्शन उत्रिएका बताइए पनि कट्टर वामपन्थी युनियन सिजिटीले सरकारविरोधी प्रदर्शनमा देशभर २० लाखभन्दा बढी फ्रान्सेली सहभागी भएको दाबी गरेको छ।

पेरिसमा मात्रै ४ लाख प्रदर्शनकारी राष्ट्रपति माक्रोँको अवकाश हुने उमेर बढाउने योजनाको विपक्षमा सडक आन्दोलनमा आएको बताएको छ।

पेरिसको बेस्ताई क्षेत्र वरपर केही प्रदर्शनकारीले प्रहरीमाथि बोतल, खानेकुरा ‘प्याक’ गर्ने टिनका डिब्बाले प्रहार गरेका थिए भने प्रहरीले पनि ग्रिनेड र अश्रुग्यास हानेर तितरबितर पार्ने प्रयास गरेको थियो। बिहीबार प्रदर्शनकारीले रेल ठप्प पार्नुका साथै विद्युत् आपूर्तिमा पनि अवरोध गरेका थिए।

युवा प्रदर्शनकारीको एक समूहले पूर्वी पेरिसको विशाल नेशन प्लाजामा सुरक्षा बलमाथि आक्रमण गरेका थिए भने कैयौं साइकलमा आगो लगाउनुका साथै बस बिसौनीमा तोडफोड गरेका थिए।

हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले ४४ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ। लियोँबाट पनि १७ जना प्रदर्शनकारीलाई गिरफ्तार गरिएको थियो।

कर्मचारी संघ संगठन र युनियनले निवृत्तिभरणमा गरिएको फेरबदलले कठिन संघर्षबाट प्राप्त अधिकार गुम्ने र तलबमा गरिएको कर योगदानको प्रस्ताव अमान्य भएको बताउँदै आएका छन्। नयाँ निवृत्तिभरण प्रणालीबारे गरिएको एक सर्वेक्षणले पनि अधिकांश फ्रान्सेली त्यसको विरोधमा रहेका देखाएको छ।

Comments are closed.