३३ प्रतिशत महिला मन्त्रिमण्डलमा सहभागिता हुनुपर्ने मन्त्री डा.राणाको धारणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले मन्त्रिमण्डलमा पनि ३३ प्रतिशत महिलाको सहभागिताको बारेमा आवाज उठाउनुपर्ने बताउनुभएकाे छ ।

विहीबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा उनले संसदमा मात्र ३३ प्रतिशत पुगेर नहुने भन्दै सुधारको क्रममा मन्त्रिमण्डलमा पनि ३३ प्रतिशत पुग्नुपर्ने कुरामा जोड दिनुपर्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘मन्त्रिमण्डलमा महिलाहरुको उपस्थिती न्यून भयो भन्ने कुरा उठेको छ । अहिले हामी संसदमा प्रतिनिधि गरेर ३३ प्रतिशत पुगेका छौं । अब अर्को सुधार गर्ने क्रममा मन्त्रिमण्डलमै पनि ३३ प्रतिशत पुग्नुपर्छ भन्ने आवाज उठाउनुपर्छ । यस बारेमा छलफल भईरहेको छ ।’

यसको साथै उनले वर्तमान सरकारले आफ्नो काममा महिला कर्मचारीको प्रतिनिधित्व हुनैपर्ने कुरालाई प्राथमिकतामा राखेको भन्दै आउने समयमा हुने कामहरु महिलाको पक्षमा हुने विश्वास व्यक्त गर्नुभएकाे छ ।

उहाँले भन्नुभयाे, ‘अहिलेको सरकारले एउटा मुख्य एजेण्डा भनेको संविधान संशोधन गर्ने र संविधानको मूल मर्मलाई परिवर्तन नगरिकन अझ राम्रो कसरी बनाउने भन्ने कुरामा सरकारले पहल गर्छ । यही पहलकदमीमा नै हरेक सरकारको काममा महिला कर्मचारीको प्रतिनिधित्व हुनैपर्छ भन्ने एउटा कुरा पास भएको छ ।’

देशमा उठेका हरेक मुद्दाहरुमासरकार र प्रतिनिधि सभाले गम्भीर भएर हेर्ने पनि उहाँको भनाई छ ।