मीनकुमार नवोदितको समयको बयानलाई चिसाप साहित्य पुरस्कार

विराटनगर । विराटनगरका सर्जक एवं पत्रकार मीनकुमार नवोदितको ‘समयको बयान’ कविता सङ्ग्रहलाई ‘चितवन साहित्य परिषद्ले पुरस्कृत गरेको छ । परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा बसेको बैठकले ‘चिसाप लीलानर्मदा साहित्य पुरस्कार’ नवोदितको उक्त कविता सङ्ग्रहलाई प्रदान गर्ने निर्णय गरेको थियो ।
पुरस्कारको राशी १५ हजार रुपैयाँ छ । उक्त पुरस्कार यसअघि रमादेवी शर्मा, श्रीओम श्रेष्ठ रोदन, विश्वनाथ अधिकारी, विमल वैद्यलाई प्रदान गरिसकेको छ ।
पुरस्कारको स्थापना सरस्वती रिजाल र स्वर्गीय उपेन्द्र रिजालले आफ्ना दिवंगत मातापिताको नाममा स्थापना गरेका हुन् । घोषित पुरस्कार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्तीको अवसर पारेर कात्तिक ७ गते सोमबार चितवनमा विशेष समारोह आयोजना गरेर समर्पण गरिएको थियो ।
दुई दशकदेखि पत्रकारितासँगै साहित्यमा सक्रिय नवोदितको ‘फूलबारीभित्रका भमराहरू’, ‘झरीले रुझेको गाउँ’ र ‘समयको बयान’ गरी तीनवटा कवितासङ्ग्रह प्रकाशित छन् । नवोदित नेपाल सरकारले युवा वर्ष मोती पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् ।