काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राजकीय भ्रमणका लागि अमेरिका प्रस्थान गरेका छन्। मोदी आज बिहान अमेरिका प्रस्थान गरेका हुन्।
अमेरिका जानु अघि उनले ट्वीट गर्दै भनेका छन् उनले भनेका छन्, ‘अमेरिका प्रस्थान गर्दैछु, जहाँ म न्यूयोर्क शहर र वाशिंगटनमा हुने कार्यक्रमहरूमा सहभागी हुनेछु। त्यहाँ योग दिवस मनाउने र राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नेछु।’
राष्ट्रपति जो बाइडेनको निमन्त्रणमा अमेरिका प्रस्थान गरेका मोदीले जुन २१ मा संयुक्त राष्ट्र संघको मुख्यालयमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने कार्यक्रमको नेतृत्व गर्नेछन्। अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै प्रस्ताव गरेका थिए। महासभाले पारित गरेसँगै हरेक वर्ष जुन २१ मा अन्तर्राष्टिय योग दिवस मनाउने गरिन्छ।
त्यसपछि वाशिंगटन डीसी जानेछन्, जहाँ उनको जुन २२ मा ह्वाइट हाउसमा औपचारिक स्वागत गर्नेछन् र राष्ट्रपति बाइडेनलाई भेट्नेछन्। प्रधानमन्त्रीले जुन २२ मा अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने छन्।
संयुक्त राज्य अमेरिकामा प्रधानमन्त्री मोदीप्रति द्विपक्षीय समर्थन र सम्मान प्रदर्शन गर्दै प्रतिनिधि सभा र सिनेट दुवैले यस्तो ऐतिहासिक भाषण दिने निमन्त्रणा दिएका थिए।
अमेरिकी कांग्रेसको संयुक्त सत्रलाई दुई पटक सम्बोधन गर्ने उनी पहिलो भारतीय प्रधानमन्त्री हुनेछन्। उनले सात वर्षअघि अमेरिकी कंग्रेसलाई सम्बोधन गरेका थिए। जुन २३ मा प्रधानमन्त्रीलाई अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले संयुक्त रूपमा दिवाभोजको आयोजना गर्नेछन्।
त्यसपछि उनले अमेरिकी व्यावसायीसँग भेट गर्ने कार्यक्रम रहेको भारतीय परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले २० अमेरिकी कम्पनीका प्रमुखसँग भेट्ने अपेक्षा गरिएको छ। उनी जोनअफ केनडीमा केन्द्रमा १५ सय भन्दा बढी ब्यवसायीलाई सम्बोधन गर्नेछन्। जुन २३ सम्म अमेरिकामा रहने मोदी त्यहीबाट जुन २४ मा इजिप्टको राजकीय भ्रमणका लागि कायरो जानेछन्।