काठमाडौं । अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो आरोहण गर्न जान लाग्नुभएका पर्वतारोही प्रकाशराज पाण्डेलाई महजोडी र हास्य कलाकार किरण केसीले बिदाइ गर्नुभएको छ ।
पाण्डेलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेर उहाँहरूले बिदाइ गर्नुभएको हो । पाण्डे सो शिखर आरोहणका लागि बुधबार अफ्रिकाको तान्जेनिया जाँदै हुनुहुन्छ । तान्जेनियामा रहको अफ्रिकाकै सबैभन्दा अग्लो सो शिखर ५ हजार ८ सय ९५ मिटर उचाइमा छ ।
सन् २०१८ मा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएका पाण्डेले गत जुन २८ र २९ तारिखमा ककेशश हिमशृङ्खलामा पर्ने युरोपको सबैभन्दा अग्लो चुचुरो एलब्रस पनि आरोहण गरिसक्नु भएको छ । रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल पुङमा जन्मिएका ३१ वर्षीय पाण्डेले हालसम्म नौवटा हिमाल आरोहण गर्नुभएको छ ।
सन् २०१६ मा आइसल्याण्ड पिक आरोहण गरेका पाण्डेले २०१७ मा दुई पटक स्काउट पिक आरोहण गर्नुभएको थियो । त्यस्तै २०१८ मा आमादब्लम हिमाल आरोहण गर्नुभएको थियो भने सन् २०१९ मा किलर माउण्टेन भनेर चिनिने मनास्लु हिमाल हिमाल पनि आरोहण गरिसक्नु भएको छ ।
पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै गर्दै महका म अर्थात् मदनकृष्ण श्रेष्ठले शिखर आरोहणको शुभकामना व्यक्त गर्नुभयो । पाण्डेको यो कार्यले नेपालको सान बढ्ने उहाँले बताउनुभयो ।
महका ह अर्थात् हरिवंश आचार्यले युरोपको एलब्रस हिमाल चढ्न जाँदा पनि आफूहरूले पाण्डेलाई यसै गरी बिदाइ गरेको स्मरण गर्नुभयो । उहाँले पाण्डेको यो कार्य नेपालको गौरवको विषय भएको बताउनुभयो ।
हास्य कलाकार किरण केसीले पाण्डे नेपालको मान र नेपालीको सान भएको बताउनुभयो । उहाँले विना अवरोध हिमाल आरोहणको शुभकामना दिनुभयो ।
पाण्डेले एक वर्षमा विश्वका सबै महादेशका उच्च शिखर आरोहण गरी कीर्तिमान बनाउने बताउनुभयो ।