एनसेलको शेयर खरिद बिक्रीबारे गहिरो अनुसन्धान गर्न सांसदहरूको जोड

काठमाडौँ । एनसेलको शेयर खरिद बिक्री प्रकरणको सूक्ष्म अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बोल्दै सांसदहरूले एनसेलको शेयर खरिद बिक्री प्रकरणको गहिरोगरी अनुसन्धान गर्नुपर्नेमा सांसदहरूले जोड दिएका हुन् ।

एनसेलले आफ्नो ८० प्रतिशत शेयर बेच्दा कर छली गरेको भन्दै यसको अनुसन्धान गर्नुपर्ने सांसदहरूको भनाई छ । बैठकमा बोल्दै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नेपालमा आम्दानी गरेर विदेशमा लगेर कम्पनी बेचेको भन्दै यसप्रति सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले एनसेलको कारोबार शङ्कास्पद र जालझेलपूर्ण रहेको बताए ।

उनले भने ‘कारोबार नेपालमा गर्ने, आम्दानी नेपालमा गर्ने, अनि बिक्री गरेर विदेशमा लग्ने ? यसको लगाम कसले लगाउने त ? नेपाल सरकारको ध्यान यसमा जानु पर्दैन र ? नेपालमा आम्दानी गरेर विदेशमा बसेर विक्री, वितरण गर्ने ? दुई महिना पछि प्रेस विज्ञप्तिबाट जानकारी गराउने ? सबै कुरा नै, सबै कारोबार नै शङ्कास्पद छ । जालझेल छ । प्रपञ्च रचिएको छ । यसमा ठूला–ठुलाहरूको संलग्नता बुझिरहेका छौँ ।’

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले एनसेल प्रकरणमा राजनीतिक व्यक्तिहरूको संलग्नता पनि हुन सक्ने आशंका व्यक्त गरे । उनले छानबिन समिति बनाउँदा राजनीतिक रंग पर्न नदिई न्यायिक आयोग बनाउनुपर्ने र त्यसले छानबिन गर्नुपर्ने बताए ।

नेकपा(एमाले)का सांसद योगेश भट्टराईले एनसेल डुब्दा बैंक डुब्ने र बैंक डुब्दा नेपाली जनता समेत डुब्ने भन्दै यसप्रति सचेत हुनुपर्ने बताए । उनले एनसेलले ६ अर्बमा आफ्नो शेयर बेच्ने हो भने सेयर किन्ने पहिलो अधिकार नेपाल सरकारलाई हुने बताए ।

उनले सरकारले ६ अर्बमा शेयर किनेर अर्को टेलिकम बनाउन सक्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले एनसेलले नेपालको दूरसञ्चार क्षेत्रलाई नै आफ्नो नियन्त्रणमा राख्न योजनाबद्ध ढंगले लागेको भन्दै यसप्रति गम्भीर हुनुपर्ने बताए । उनले छानबिन प्रक्रिया अगाडी बढाउनुपर्ने बताए ।

उनले भने ‘उसले अर्को के षड्यन्त्र गरिराखेको छ भने टावर कम्पनी खडा गर्ने । त्यो टावर कम्पनीलाई कुनै संयन्त्रले, सरकारी निकायले मान्यता दिने । त्यो टावर पनि बेचिदिने । यो ६ वर्षभित्र टावर त्यो कम्पनीलाई बेचिदिने त्यो कम्पनी पनि आफ्नै मान्छेको हुनेछ । अनि एनसेलसँग ६ वर्षपछि नाम मात्रै हुन्छ । यस प्रकारको योजनाबद्ध ढंगले जसरी नेपालको राजश्व, दूरसञ्चार प्रदायकहरूलाई नियन्त्रणमा राख्ने योजनाबद्ध ढंगले लागेको छ । हामीले गम्भीरतापूर्वक लिनुपर्छ । छानबिन प्रक्रिया अगाडी बढाउनुपर्छ ।’

नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेम आलेले सरकार दह्रो रुपमा प्रस्तुत भएर एनसेल प्रकरणको छानबिन गर्नुपर्ने बताए ।

नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले एनसेललाई कर नतिरुन्जेल र बैंकको ऋण नतिरुन्जेल कुनै निर्णय गर्न दिनु नहुने बताए । उनले एनसेलले शेयर खरिद बिक्रीमा सरकारको अस्तित्वलाई समेत अस्वीकार गरेको भन्दै एनसेलप्रति छानबिन हुनुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पनि एनसेलको शेयर प्रकरणमा स्वतन्त्र छानबिनको माग गरे । उनले सर्वदलीय, उच्चस्तरीय नाम दिएर छानबिन समिति नबनाई स्वतन्त्र र निष्पक्ष ढंगले छानबिन गर्नसक्ने समिति बनाउनुपर्ने बताए ।

बैठकमा बोल्ने अन्य सांसदहरूले पनि एनसेलको शेयर किनबेचमा आर्थिक घोटाला भएको भन्दै छानबिनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।