उड्डयन प्राधिकरणका महानिर्देशकको क्षमतामाथि प्रश्न, राजीनामा मागे सांसदहरूले

प्रगति विवरण माग्दासमेत दिन नसकेको आरोप

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वको क्षमतामाथि सांसदहरूले प्रश्न उठाएका छन्।

बिहीवार प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा अधिकांश सांसदहरूले प्राधिकरणको नेतृत्वमाथि प्रश्न उठाएका हुन्।
सांसदहरूले प्राधिकरणको नेतृत्व आएसँगै मुलुकमा ७ भन्दा बढी हवाई दुर्घटना भएको भन्दै नेतृत्वमाथि प्रश्न उठाएका हुन्।
उनीहरूले १९ महिनादेखि संसदीय समितिमा हवाई सुरक्षासम्बन्धमा भएका कामको परिणाम माग्दासमेत कुनै प्रगति विवरण समितिलाई दिन नसकेको भन्दै नेतृत्वको आलोचनासमेत गरेका छन्।
सांसदहरूले इयूको कालोसूचीबाट हटाउन प्राधिकरणले अहिलेसम्म गरेको काम सन्तोषजनक नभएको भन्दै परिणाम आउने गरी काम गर्न नसकेको उल्लेख गरे।
सांसदहरूले प्राधिकरणको जिम्मेवारी लिएपछि ७ वटा हवाई दुर्घटना हुँदा समेत प्राधिकरणको नेतृत्व जिम्मेवार नभएको भन्दै राजीनामा दिनुपर्ने बताए। उनीहरूले नैतिकताका आधारमा नेतृत्वले राजीनामा गर्नुपर्ने उल्लेख गरे।
प्राधिकरणको नेतृत्वले जिम्मेवारी लिनुपर्ने भए पनि सधैँ अरुलाई दोष दिने गरेको बताए। सांसदहरूले समितिमा नियमन र सर्भिस दिने निकाय फरक–फरक बनाउन आवश्यक रहेको बताए।
उनीहरूले नेपाली आकाश सुरक्षित छ भन्ने वातावरण बनाउन चाहिने ऐन कानून तत्काल बनाउन आवश्यक रहेको समेत बताए। समितिमा नेपाली कांग्रेसका सांसद उदय समशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको क्षमतामाथि प्रश्न गरे।
उनले महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणको नेतृत्व सम्हालेदेखि ७ वटा हवाई दुर्घटना भइसकेको भन्दै महानिर्देशकले जिम्मेवारी लिनुपर्ने बताए। उनले नेपाली आकाशमा आन्तरिकमात्र नभएर विदेशी जहाजसमेत दुर्घटनामा परेको बताए।
उनले सन् १९९६ यता साना ठूला गरेर ६० वटा जहाज दुर्घटनामा परिसकेको बताए। उनले प्राधिकरणमा अधिकारीले नेतृत्व लिएयता नै ७ वटा जहाज दुर्घटनामा परिसकेको भन्दै यसको जिम्मेवारी लिनुपर्ने उल्लेख गरे। उनले अब प्राधिकरणको नेतृत्व फेर्नेसम्बन्धमा सोच्ने समय आएको बताए।
नेकपा एमालेकी सचेतक सुनिता बरालले हवाई सुरक्षाबारे देश, सरकार र मुलुकको अभ्यास यस्तै हो भन्दै प्रश्न गरिन्। उनले जिम्मेवार निकायका प्रमुखहरूले परिणाम दिने कुरामा विषयान्तर गर्न खोजेको आरोप लगाइन्।
उनले कोरियामा नेपाली जहाज उडान गर्ने विषय प्राविधिक समस्या देखाएर अड्काएर राख्न नहुने बताइन्। उनले प्राधिकरणको नेतृत्व र वायुसेवा निगमको नेतृत्वले सम्बन्धित निकायहरूसँग उडान गर्न तदारुकता नदेखाएको आरोप लगाइन्। उनले दूतावासले प्रयास गर्दासमेत प्राधिकरण र नेपाल वायु सेवा निगमले काम नगरेको बताइन्।
रास्वपा सांसद शिशिर खनालले प्राधिकरणमा प्रदीप अधिकारी महानिर्देशक भएपछिमात्रै ७ वटा जहाज दुर्घटना भएको बताए। उनले ७ वटा विमान दुर्घटनामा ११८ जनाको ज्यान गएको बताए।

उनले पछिल्लो २ वर्षमा ७ वटा विमान दुर्घटना हुनुमा उड्डयन प्राधिकरणको नेतृत्वको कमजोरी रहेको कुरा तथ्यबाट स्पष्ट भन्न सकिने बताए। उनले ७ वटा हवाई दुर्घटनाबाट मृत्यु भएका ११८ जनाको नैतिक दायित्व कसले लिने भन्दै प्रश्न गरे।

सांसद एकनाथ ढकालले पनि सौर्य एयरलाइन्सको दुर्घटनाका विषयमा प्राधिकरणका महानिर्देशक अधिकारी पन्छिन खोजेको आरोप लगाए। उनले उनले संसदीय समितिमा सांसदहरूले सोधिएका प्रश्नको जवाफ दिन सक्नुपर्ने नत्र पदबाट राजीनामा दिनुपर्ने बताए।

उनले हवाई सुरक्षासम्बन्धी नियमनकारी निकायहरूको समितिमा आएको जवाफबाट सन्तुष्ट नभएको बताए। उनले नियमनकारी निकायका प्रमुखहरूले लिएको जवाफबाट आफ्नो जिम्मेवारीबाट भाग्न खोजेको देखिएको आरोप लगाए।

उनले कोरियामा नेपाली जहाज जान नपाउने तर कोरियाली जहाज नेपाल आउने भन्दै कोरियाली जहाज पनि रोक्नुपर्ने बताए।

प्राधिकरणका महानिर्देशक अधिकारीले अहिलेसम्म भएका हवाई दुर्घटना र मृत्यु भएका ९६९ जनाको जिम्मेवारी लिने बताए। उनले सबै दुर्घटनाको नैतिक जिम्मेवारी आफ्नो भएको बताए।

उनले अहिले राज्यले गठन गरेको आयोग नै आधिकारिक भएको बताए। उनले आयोगले छानबिन गरेर जसको गल्ती देखायो त्यसकै गल्ती हुने बताए।