मस्क भन्छन्- जुकबर्गले ट्वीटरको अवधारणा चोरे कानूनी कारबाही गर्छौं

काठमाडौं : विश्वका ठूला सामाजिक सञ्जालका मालिकहरु सामाजिक सञ्जालकै होडबाजीका कारण आमने–सामने भएका छन्।

एलन मस्कको कम्पनी ट्विटर र मार्क जुकरबर्गको कम्पनी मेटाबीच विवाद बढेको हो। मेटाले फेसबुक, इन्स्टाग्राम, ह्वाट्स एप लगायत सञ्जाल चलाइरहेको छ। मेटा कम्पनीले ट्विटरलाई प्रभावित पार्ने गरी नयाँ प्लेटफर्म थ्रेड्स सुरु गरेपछि ट्विटरले मेटाविरुद्ध कानूनी कारबाहीको चेतावनी दिएको छ।

मेटाको थ्रेड्स नामको नयाँ सामाजिक सञ्जाल सार्वजनिक भएलगत्तै करोडौँले एप डाउनलोड गरिसकेका र नयाँ खाता खोलेका छन्। यो संख्या तीव्र रुपमा बढेको छ। ट्विटरले पैसा तिर्ने र नतिर्ने प्रयोगकर्ताबीच पहुँचको सीमा निर्धारण गरेको केही समयमै मेटा कम्पनीले थ्रेड्स सुरु गरेको थियो।

थ्रेड्स सुरु भएपछि ट्विटर मालिक मस्कले प्रतिस्पर्धा सही भए पनि धोकाधडी गलत भएको बताएका थिए।  अहिले ट्विटरले थ्रेड्सले आफ्ना पूर्वकर्मचारीहरुलाई जागिर दिएको र उनीहरुले अवधारणासमेत चोरेको आरोप लगाएको छ।

तर मेटाका प्रवक्ता एन्डी स्टोनले भने थ्रेड्सको इन्जिनियरिङ टिममा ट्विटरका कुनै पनि पूर्वकर्मचारी नरहेको दाबी गरेका छन्।