‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारासाथ २१ औँ राष्ट्रिय धान दिवस आज मनाइँदै

काठमाडाैं । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस, राेपाइँसँगै दही च्यूरा खाएर मनाइँदैछ ।

‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारासाथ २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएकाे हाे ।

०६१ साल मंसिर २९ गते सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । साेही अनुसार हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिन्छ ।

धान दिवसकाे अवसरमा ललितपुरकाे खुमलटारस्थित धानबाली अनुसन्धान केन्द्रमा कार्यक्रम हुँदैछ । नेकपा एमाले निकट किसान महासंघले काठमाडाैंसहित देशका विभिन्न ठाउँमा कार्यक्रम राखेकाे छ । धान दिवसको मुख्य कार्यक्रम भने चितवनकाे बछौलीमा भव्य रुपमा हुँदैछ । साे कार्यक्रममा प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड र कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह सहभागी हुँदै हुनुहुन्छ ।

यस वर्ष सरकारले समयमै मल उपलब्ध गराएकाे दाबी गरेपनि किसानले भने  सहज रुपमा मल नपाएकाे गुनासाे गरिरहेका छन् । अ‌ाैपचारिक रुपमा धान राेपाइँ असार १५ मा सुरु हुने भएपनि केही ठाउँमा याे राेपाइँ सुरु भइसकेकाे छ । किसानहरु असारकाे सुरुअ‌ातदेखि नै राेपाइँमा रमाइरहेका छन् ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका असारे गीत गाएर खेतमै निक्‍कै रमाइलो गरिन्छ  ।

कृषि तथा पशुपंक्षी मन्त्रालयकाे कृषि विभागका अनुसार अहिलेसम्म ९ ‌दलमलव ८ प्रतिशत मात्र रोपाइँ भएको छ । सबभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत र सबभन्दा कम मधेश प्रदेशमा २.९ प्रतिशत मात्र रोपाइँ भएको छ ।

कामको चटारोले थकित किसानले शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

परापूर्वकालदेखि नै नेपाली समाजमा धानको आर्थिक, सामाजिक र सांस्कृतिक महत्व छ । नेपालमा २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

नेपालमा करिब १५ लाख हेक्टर जमिनमा धान खेती हुन्छ । यसवर्ष १४ लाख ९६ हजार हेक्टर जमिनमा रोपाइँ हुने प्रक्षेपण छ ।