कुवेतलाई ८ विकेटले हराउँदै नेपाल महिला क्रिकेटको सेमिफाइनलमा

काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले कुवेतमाथि ८ विकेटको जित हात पारेको छ । यो जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । वर्षाले प्रभावित खेलमा जितको लागि पाएको ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।
नेपाललाई जिताउन कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाइन् । सीता राना मगर १७ रनमा आउट भइन् । यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको थियो । तर बीचमा वर्षाले खेल रोकिएपछि नेपालले १२ ओभरमा ५० रन बनाउनु पर्ने लक्ष्य पाएको थियो । जुन नेपालले सहजै भेट्टायो ।कुवेतलाई ७३ रनमा रोक्ने क्रममा सीता राना मगरले ह्याट्रिक विकेट लिइन् । उनले १३ ‌औं ओभरको दोस्रो बलमा २९ रन बनाएकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लूको धरामा पारिन् ।
तेस्रो बलमा मार्याम ओमरलाई विकेट किपर काजल श्रेष्ठको हातबाट स्टम्पिङ्ग गरिन् ।चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गरिन् ।यस्तै रुबिना क्षेत्री र कविता कुँवरले समान २ विकेट लिए ।