नेपालले १५ वर्षपछि पाकिस्तानलाई हरायो, डेब्युमा आशिषको विजयी गोल

नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप २०२३ मा सान्तवना जित दर्ता गरेको छ । अन्तिम खेलमा पाकिस्तानलाई १–० ले पराजित गर्दै नेपालले जितसहित प्रतियोगिता अन्त्य गरेको हो ।

नेपालले पाकिस्तानलाई १५ वर्षपछि पराजित गरेको हो। २००८ पछि नेपालले हराउन सकेको थिएन।

बेन्चबाट दोस्रो हाफमा मैदान छिरेका विंगर आशिष चौधरीले खेलको अन्त्यतिर गोल गर्दै नेपाललाई जित दिलाए। सुरुवाती दुई खेलमा हार बेहोरेपछि बाहिरिएका नेपाल र पाकिस्तानका लागि अन्तिम खेल प्रतिष्ठाको लडाई थियो ।

नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ र भारतसँग २-० ले पराजित भएको थियो । पाकिस्तानले भने दुवै खेलमा ४-० को हार बेहोरेको थियो ।

८० औं मिनेटमा आशिष चौधरीले नेपाललाई अग्रता दिलाए । लाकेन लिम्बुले पेनाल्टी क्षेत्र बाहिरबाट मिलाइदिएको पासलाई आशिषले गोलमा परिणत गरे ।

यस समूहबाट भारत र कुवेत सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । यी दुईबीच समूह विजेता बन्न आज साँझ ७:४५ बजे प्रतिस्पर्धा हुनेछ ।