नेपाल चिनाउने ५६ डकुमेन्ट्री 

काठमाडौँ — पूर्खाले रोपेको फल खाने कि आफैंले नयाँ रुख रोप्ने ? अपट्रेन्डली मिडिया टिमअघि दुइटा बाटा थिए । टिमलाई सँधै लाग्थ्यो, नेपालका लागि केही गर्नुपर्छ । के गर्ने त ? पर्यटन क्षेत्रलाई आकर्षित गर्ने । त्यही सोचले ४ वर्षअघि मोन्याक कार्कीको टिमले ‘नेपाल टुरिजम’ सुरु गर्‍यो ।

नेपालका विभिन्न ठाउँ घुम्ने ट्राभल कार्यक्रम । नयाँ कार्यक्रम गर्न चुनौति हुने नै भयो । जहाँ चुनौति छ त्यही मज्जा । त्यही मज्जाको स्वाद लिन ४ वर्षअघि ‘नेपाल टुरिजम’ सुरु भयो । छायाँमा परेका नेपालका विभिन्न क्षेत्रलाई बाहिर ल्याउने जमर्कोसहित मनाङ ट्राभलको योजना बन्यो ।

 

मनाङ कसरी जाने त ? अफरोड यात्रामा । ट्रेकिङका आफ्नै यात्रा र मज्जा होलान् । तर अफरोड साधान प्रयोग गरेर मनाङ जानुको मज्जा बटुले । त्यसले अफरोड कल्चरको विकास हुने भयो। छिमेकी राष्ट्र भारतमै अफरोड कल्चरमा निकै पैसा खर्चिन्छ । नेपालमा पनि अफरोड कल्चर सुरु गरे पर्यटक आकर्षित हुन्छ भन्ने भिजनसहित मनाङको कार्यक्रम गरियो । सगरमाथा चढ्न पर्यटकले हजारौं डलर खर्च गर्छन् । नेपालको अफरोड यात्राले पनि पर्यटकबाट हजारौं राजश्व भित्र्याउन सक्छ भन्ने थियो । मनाङपछि लोमान्थाङ, रारा अनि सन्दकपुर ट्राभल सकियो ।

‘अफरोडमा नेपालको पनि क्षमता छ । त्यही हिसाबले हामीले नेपाल टुरिजम सुरु गर्‍यौं । हामीले सन्दकपुरलाई किन रोज्यौं भने भारत र नेपालको बीचमा छ सन्दकपुर । भारतले त्यसलाई सन्दकफु भनेर पर्यटक आकर्षित गर्दैछन् । जब कि त्यो ठाउँ हाम्रै क्षेत्रमा छ । तर, त्यता चर्चामा छ ।त्यसैले हामीले पनि त्यो ठाउँलाई पर्यटक आकर्षणका लागि किन बाहिर नल्याउने त भनेर त्यहाँ पनि हामी पुग्यौं,’ अप्ट्रेन्डली मिडियाका कार्यकारी अधिकृत कार्कीले भने ।

कोभिडको २ वर्ष उनको टिमले नयाँ काम गर्न पाएन । तर, कोभिडपछि अब कस्तो कार्यक्रम गर्ने त ? भन्नेतर्फ उनको टिम फेरि घोत्लियो । सानै कार्यक्रममा रमाउने कि ठूलो कार्यक्रम आँट्ने ? फेरि दुई रोजाइ सामुन्ने आयो । त्यसपछि मोन्याकसँगै प्रकाश कर्ण, अजिस्ना शाक्य, आयुसा प्रसाईं, पदम पराजुलीको टिमले ठान्यो,’अब पर्यटनमा इतिहास रच्ने कार्यक्रम गरौं । पूरा मिहेनत गरौंला ।’

 

यस पटकको उनीहरुको भिजन ठूलै छ । नेपाल के हो ? नेपाललाई पुनर्परिभाषित गर्ने सोचसहित ‘इम्याजिन नेपाल’ सुरु गरे। घरमै उत्पादित एउटा यस्तो कार्यक्रम जहाँ ७ क्रियटिभ टिमले सातै प्रदेशमा पुगेर बनाएको ५६ डकुमेन्ट्रीमार्फत् नदेखेको नेपाललाई देखाउनेछन् । ‘नेपाल पर्यट्न दूत २०७९’ को रुपमा नेपाललाई प्रस्तुत गर्ने यो कार्यक्रम कान्तिपुर टेलिभिजनमा वैशाख २३ बाट सुरु हुँदैछ । ‘हामीले यसबीच कति विदेशीलाई नेपाल के हो त भनेर सोध्दा धेरैले सगरमाथा भनेर जवाफ दिए । कतिले के भने । उनीहरुले नदेखेको नेपाललाई हामीले देखाउन पाउँ भनेर हामीले इम्याजिन नेपाल सुरु गर्‍यौं,’मोन्याक सुनाउँछन् ।

सगरमाथाबाहेकको परिचय बोकेको नेपाललाई कसरी देखाउने ? टिमले स्टोरी टेलर्सको लामो लिस्ट तयार पार्‍यो । त्यसबीच छानिए ७ स्टोरी टेलर्स/कन्टेन्ट क्रियटर । साहना बज्रचार्य(प्रदेश १), दर्शन पोख्रेल(गण्डकी प्रदेश), किशोर कायस्थ(लुम्बिनी प्रदेश), अविन गुरुङ(कर्णाली प्रदेश), घुमन्ते(मधेस प्रदेश), मानसी अग्रवाल(बागमति प्रदेश), नेपाल डट फुड(सुदुरपश्चिम प्रदेश) । हरेकलाई प्रदेश छुट्याइयो । उनीहरु प्रत्येकलाई १० जनाको टिममा २५ दिनका लागि आ-आफ्नो प्रदेश पठाइयो । उनीहरुले खिचेर ल्याएको डकुमेन्ट्रीमा नेपालको नयाँ परिभाषा देखिने कार्की सुनाउँछन् । ती सातै कन्टेन्ट क्रियटरले ७ प्रदेशको ७ थिममा ७ वटा डकुमेन्ट्री बनाएका छन् । ‘ल्यान्डस्केप एण्ड टेरेन’, ‘टुरिजम एक्टिभिटिज’, ‘फुड एण्ड क्युलिनरी आर्ट्स’, ‘बायोडायभरसिटी’, ‘पिपुल एण्ड कल्चर’,’द अनएक्सप्लोर’ र ‘प्रोभिन्स भिडियो’को थिममा बनेको डकुमेन्ट्रीको प्रतिस्पर्धा पनि हुनेछ ।सुरजसिंह ठकुरी प्रस्तोता रहेको यस कार्यक्रमको भूषण दाहाल निर्णायक रहनेछन् । १ घण्टाको कार्यक्रममा निर्णायकसँगै दर्शकले पनि भोट गर्ने व्यवस्था गरिएको छ । ७ प्रदेश पुगेर बनाएको ७ डकुमेन्ट्रीबीचको प्रतिस्पर्धामा एकजना कन्टेन्ट क्रियटर विजेता घोषणा गरिनेछन् । विजेताले उपहारमा नगद २० लाख जित्ने बताइएको छ । जितेको टिमले फेरि नेपालको विषयमा सात वटा थिममाथि नेपालको डकुमेन्ट्री बनाउनुपर्नेछ ।

आफूहरुले नेपालको पर्यटन प्रवर्द्धनका लागि यस किसिमको कार्यक्रम सुरु गरिएको मोन्याक सुनाउँछन् । ‘हाम्रो कम्पनीले सँधै केही फरक गर्ने सोचसहित अगाडि बढेको छ । हामीले जे-कुरा पनि बाहिरबाट नै आयात गर्छौं । फ्रेन्चाइज सोहरु नेपाल भित्रिइरहेका छन् । हामीले अहिले सिर्जनशिलता पनि बाहिरबाट नै ल्याउन थाल्यौं । हामी आफैंमा सक्षम छौं भनेरै केही नयाँ कार्यक्रम हामीले ल्याएका छौं । यो नेपालकै लागि नेपालमै उत्पादित यस्तो कार्यक्रमको नयाँ कन्सेप्ट हो,’उनले भने,’भोली भारतले इम्याजिन इन्डिया भनेर हाम्रो फ्रेन्चाइज लान सक्नेछन् । युवाहरुले यो कार्यक्रमपछि नेपाललाई बुझ्नु पर्‍यो । हामी काठमाडौं बसेर नेपाल बुझे झैं गर्छौं नि ! तर सुदुरपश्चिममा पुगेको हाम्रो टिमले त्यहाँ नयाँ नेपाल देख्नु भएको छ । यो नेपाली र विदेशमा बसिरहेकाहरुलाई नेपाल बुझाउने कार्यक्रम हो ।’

३ करोड बजेटमा तयार भएको यो कार्यक्रमपछि आफूहरुले पर्यटन प्रवर्द्धनबारे नै नयाँ काम गर्ने सोचेको मोन्याक सुनाउँछन् । ‘कति कन्टेन्ट क्रियटरले त जीवननै जोखिममा राख्नु भएर सुटिङ गर्नु भएको छ । गण्डकी प्रदेशको दर्शन पोख्रेलले ७ दिन हिउँमा पुगेर खिच्नुपर्ने ठाउँमा पुग्नु भएको छ ।केही राम्रो काम देशका लागि गरेका छौं । केही राम्रो हुन्छ कि भन्ने हुन्छ भन्ने लागिरहेको छ,’उनले भने,’मिलियन भ्यूज नपुगे पनि बौद्धिक वर्ग, पर्यटन क्षेत्रका मानिसकहाँ यो कार्यक्रम पुगोस् अब यसपछि नेपालको पर्यटन प्रवर्द्धनका लागि काम गर्नेछौं ।’