Trending Now

नेपाल निर्वाचनः मतदानको पूर्वनिर्धारित समय समाप्त, स्थानीय निर्वाचनमा भन्दा कम मत खसेको अनुमान

मधेश प्रदेशमा ६० प्रतिशत बढी मतदान भएको अनुमान

आइतवार राति नै सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने समय तोकिने निर्वाचन अधिकृतहरूले जानकारी दिएका छन्।

मधेश प्रदेशका ८ वटा जिल्लामा औसतमा ६० देखि ६५ प्रतिशतको हाराहारीमा मतदान भएको निर्वाचन अधिकृतहरूले जानकारी दिएका छन्।

पर्सामा ५२ प्रतिशत मतदान सम्पन्न भएको प्रारम्भिक अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जनाएका छन्।

त्यसैगरी बारामा ६६ प्रतिशत मतदान भएको अनुमान गरिएको निर्वाचन अधिकृत सरोज चौधरीले जानकारी दिए।

रौतहटमा भने ६५ देखि ७० प्रतिशतसम्म मतदान भएको अनुमान हाल गरिएको रौतहटका निर्वाचन अधिकृत छोटेलाल दासले बताए।

त्यसैगरी सर्लाहीमा ६२ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको सर्लाहीका निर्वाचन अधिकृत दिवाकर भुजेलले बताए।

महोत्तरीमा भने ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन कार्यालय महोत्तरीका निर्वाचन अधिकृत सुबोध कुमार महतोले बताए।

त्यसैगरी धनुषामा ६२ प्रतिशत मतदान भएको जानकारी धनुषाका निर्वाचन अधिकृत श्रीधर पन्थीले बताएका छन्।

त्यस्तै सप्तरीका निर्वाचन अधिकृत रमेश कुमार जोशीका अनुसार ६३ प्रतिशत मत खसेको अनुमान गरिएको छ।

सिराहामा भने ६२ देखि ६५ प्रतिशतसम्म मत खसेको प्रारम्भिक अनुमान गरिएको सिराहाकी निर्वाचन अधिकृत इन्दिरा यादवले बताइन्।

एक दुई स्थानमा सामान्य विवादका कारण केहीबेर मतदान रोकिए पनि सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमै मतदान सम्पन्न भएको निर्वाचन अधिकृतहरूको भनाइ छ।

मधेश प्रदेशका ८ वटै जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्ने र मतगणना स्थलमा लैजाने कार्य भइरहेको र आज (आइतवार) राति नै सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने समय तोकिने निर्वाचन अधिकृतहरूले जानकारी दिएका छन्।

मधेश प्रदेशमा जम्मा ३३ लाख ८६ हजार ६२८ मतदाता थिए। प्रदेशमा ३२ प्रतिनिधिसभा तथा ६४ प्रदेशसभा निर्वाचन क्षेत्र छन्।

Comments are closed.