काठमाडौँ — नेपाल-युरोपेली युनियन चलचित्र महोत्सवको ११ औं संस्करण सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको यो महोत्सव कार्तिक २२ गतेसम्म आयोजना हुने बताइएको छ ।
युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले महोत्सव कलाको प्रदर्शनीसँगै संस्कृति आदानप्रदानका लागि उपयुक्त माध्यम भएको बताउँदै प्रदर्शन गरिने फिल्मले युरोपलाई बुझ्ने अवसर प्रदान गर्ने बताइन् । त्यस्तै महोत्सवकी सद्भावनादूत अभिनेत्री केकी अधिकारीले दसैं र तिहार सकिएपछि फिल्म महोत्सवको रुपमा सिर्जनाको पर्व सुरु भएको बताइन् । महोत्सव भौतिक र भर्चुअल दुवै माध्यमबाट आयोजना भएको हो ।
महोत्सवमा १३ युरोपेली र ३ नेपाली चलचित्र देखाइनेछ । यो वर्ष ओस्करका लागि नेपालको तर्फबाट सिफारिस गरिएको फिल्म ‘ऐना झ्यालको पुतली’ देखाइनेछ । किरण श्रेष्ठले निर्देशन गरेको ‘एट एनोदर विन्टर’ र विशाल रोक्का मगरले निर्देशन गरेको ‘गोर्खा गर्ल्स’ प्रदर्शनमा आउने अर्का दुई नेपाली फिल्म हुन् ।
सुर्खेतमा हुने महोत्सव कार्तिक १९ देखि २२ गतेसम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना गरिनेछ । सुर्खेतमा ५ युरोपियन तथा ३ नेपाली चलचित्र प्रदर्शन गरिनेछ । निर्देशक सुजीत बिडारीले कात्तिक २२ मा कर्णाली प्रदेशका फिल्मका विद्यार्थी तथा चलचित्रकर्मीहरूका लागि क्लास दिनेछन् ।