नेपाल–भारतबीच गणस्तरीय संयुक्त सूर्य किरण अभ्यास सुरु

नेपाली र भारतीय सेनाबीच गणस्तरीय संयुक्त अभ्यास सूर्यकिरण–१६औँ शृङ्खला आजदेखि रुपन्देहीको सालझण्डीमा सुरु भएको छ । विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रति आतङ्कवाद जस्ता विषय समावेश गरी सञ्चालन हुने  १४ दिने उक्त संयुक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी यामप्रसाद ढकालले शुभारम्भ गरेका हुन् ।

प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा तीन सय ३४ र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा तीन सय ३४ सैनिक तालिममा सहभागी रहेका छन् । यसअघि संयुक्त अभ्यास सूर्य किरणको पन्ध्रौँ संस्करण भारतको पिथौरागढमा भएको थियो । अभ्यास विसं २०६७ बाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरी सञ्चालन हुँदै आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

तालिमका क्रममा फौजले प्रतिविद्रोह तथा प्रतिआतङ्कवादलगायत जङ्गलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास गरिन्छ । उक्त तालिमबाट दुवै मुलुकका सेना बीचको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदान प्रदान हुनेछ ।

रासस

Comments are closed.