भारतको उत्तरपूर्वी क्षेत्र र नेपाल बीचको कनेक्टीभीटी परियोजनाहरूको अध्ययनको सिलसिलामा नेपाल भ्रमणमा आएको भारतको उत्तरपूर्वी विकास वित्त निगम लिमिटेड (North Eastern Development Finance Corporation Ltd-NEDFi, नेडफी) र महासंघ बीच मंगलवार सांझ महासंघ सचिवालयमा भेटवार्ता भएको छ ।
भेटवार्तामा महासंघका अध्यक्ष शेखर गोल्छा, महानिर्देशक गोकर्णराज अवस्थी र जेएनयूका वरिष्ठ प्राध्यापक एवं नेपाल सम्बन्धी जानकार महेन्द्र पी. लामाको नेतृत्वमा नेपाल भ्रमणमा आएको निगमको तीन सदस्यीय टोली सहभागी थियो ।
बैठकमा दुई देश बीचको व्यापार तथा लगानीको पछिल्लो अवस्थाका साथै हालको व्यापार तथा लगानीको अवस्थामा सुधारका विषयमा छलफल भएको थियो । नेपाल, भारतको उत्तरपूर्वी क्षेत्र र अन्य दक्षिण एसियाली देशहरू बीच क्षेत्रीय मूल्य श्रृंखलाको विकासका सम्भावनाहरू वारे पनि सो अवसरमा छलफल भएको थियो ।
छलफलमा दुई देशले प्रयोग गर्दै आएका व्यापारिक नाकाहरूमा रहेका अवरोध, आयात निर्यातलाई थप सहजीकरण गर्न गर्नुपर्ने पहल, लगानी विस्तार तथा निर्यातमा रहेका समस्यामाथि सुझाव दिन भारतीय टोलीले आग्रह गरेको थियो । आयात/निर्यात सम्बन्धी नीतिगत समस्या, पूर्वाधार, सिमा सुरक्षा, प्राविधिक तालमेल आदिका विषयमा पनि सो अवसरमा छलफल भएको थियो ।
सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले नेपाल भारत बीच विशिष्टिकृत सम्बन्ध रहेको र आर्थिक विकासको प्रयासमा पनि नेपालले सधै भारतीय सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
दुई देश बीचको व्यापारिक नाकाहरुको अवस्था अत्यन्त कमजोर रहेको, चिया, अलैची, अदुवा लगायतका नेपाली कृषि उत्पादनहरु भारतीय व्राण्डको नाउमा विश्व बजारमा जाने गरेकाले यसमा भारतीय पक्षबाट उदारतापूर्वक सहयोग हुनुपर्ने सुझाव राख्नु भयो ।
कृषि उत्पादनको परिक्षणका नाउंमा गैह्र भंसार अवरोध श्रृजना गरिदा नेपाली निर्यातकर्ताहरुले ठूलो नोक्सानी व्यहोर्नु परेको पनि उहांले बताउनु भयो । अहिले भारतले गहुं निर्यातमा प्रतिवन्ध लगाउंदा नेपाली उद्योगहरु समस्या परेको पनि जानकारी गराउनु भयो ।
नाकाहरु अत्यन्त कमजोर रहंदा नेपालको पारवहन/ढुवानी खर्च अत्यन्त महंगो हुन जांदा भारत सहित तेस्रो मुलुुकका वजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न कठिनाई भएको अध्यक्ष गोल्छाले स्पष्ट पार्नुभयो ।
नेपाली उत्पादनहरु भारतीय वजारका साथै बंगलादेश लगायत तेस्रो मुलुकमा सहज निकासीमा भारतीय पक्षबाट सहयोग हुनुपर्ने, निर्यात नाकाहरुको विस्तार तथा स्तरीकरणमा सहयोग हुन सो अवसरमा आग्रह गर्नुभयो ।
अध्यक्ष गोल्छाले यसअघि जस्तो सुकै अवस्थामा आपसी व्यापार भएपनि अवको समयमा क्षेत्रीय सन्निकटता (कनेक्टिभीटी) लाई विस्तार गर्दै आर्थिक गतिविधि, लगानी प्रवर्द्धन स्मार्ट तरिकाले गर्नुपर्ने सुझाव दिनु भयो ।
उहांले सो अवसरमा आगामी मार्चमा काठमाडौमा नेपाल भारत लगानी सम्मेलन हुने बताउनु भयो । पूर्वाधार विकासमा ठूलो मात्रामा भारतीय लगानीको अपेक्षा नेपाली निजी क्षेत्रले गरेको पनि बताउनु भयो ।
महासंघले नेपाल, भारत सहित क्षेत्रीय आर्थिक सम्बन्ध विस्तारमा रहेका चुनौती तथा समस्या सम्बन्धमा अध्ययन गरि छिट्टै सुझाव पेश गर्ने पनि नेडफीको प्रतिनिधिमण्डलाई जानकारी गराउनु भयो ।
नेडफीले भारतको उत्तरपूर्वी क्षेत्रमा औद्योगिक, पूर्वाधार, कृषि सम्वद्ध परियोजनाहरु स्थापना गर्नका लागि लघु, साना, मझौला र ठूला उद्यमहरुलाई वित्तिय सहायता प्रदान गर्दै आएको र यसमा नेपालसंग पनि कसरी सहकार्य गर्न सकिन्छ भनि अध्ययन गर्न नेपाल भ्रमणमा आएको जेएनयूका वरिष्ठ प्राध्यापक लामाले जानकारी गराउनु भयो ।
वरिष्ठ प्राध्यापक लामाले दुर्वै देश बीच रहेका नीतिगत, संरचनागत, पूर्वाधार, कार्य तौरतरिका, प्रविधि आदिमा रहेका असमानतालाई कम गरी आर्थिक विकासका माध्यमबाट आपसी लाभ लिने कार्यमा कसरी संयुक्त रुपमा अगाडि बढ्न सकिन्छ भन्ने अध्ययन गर्न आफूहरु नेपाल भ्रमणमा आएको स्पष्ट पार्नुभयो ।
आपसी भेटमा महासंघबाट आएका सुझावहरुलाई आफूहरुले सम्बन्धित निकायमा संवोधन गराउने कार्यमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।
उहांले हाल कायम रहेका नाकाका अतिरिक्त ताप्लेजुङको चिवा नाका लगायत थप अन्य नयां नाकाहरु खोली आर्थिक गतिविधिलाई थप विस्तार गर्नुपर्ने सुझाव दिनु भयो । यसले ताप्लेजुङ, पाथीभरा, सिक्किम सहित त्यस क्षेत्रका अन्य जिल्लाहरुलाई जोड्ने र त्यसबाट ठूलो लाभ उठाउन सकिने धारणा प्राध्यापक लामाले राख्नु भएको थियो ।
भेटमा महासंघका उपनिर्देशकद्वय अरुण श्रेष्ठ र विदुरचन्द्र लामिछाने, नेडफीका अन्य सदस्यहरूको पनि उपस्थिति थियो ।