नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को छैटौं संस्करणमा ३५ देशका ९५ फिल्म

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को छैटौं संस्करण आगामी चैत २ गतेदेखि ६ गतेसम्म हुने भएको छ।

बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै महोत्सवमा प्रदर्शन हुने फिल्मको सूची सार्वजनिक गरिएको हो।

निफका अध्यक्ष केपी पाठकका अनुसार यस पटक महोत्सवमा नेपालसहित ३५ देशका ९५ वटा फिल्म प्रदर्शन गरिने छ। ती फिल्म संसारका ५५ देशबाट प्राप्त ५ सय बढी फिल्मबाट छानिएको हो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुको ७ विधामा १४ पुरस्कार वितरण गरिनेछ।

अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड, प्रदान गरिनेछ भने इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिजका जुरीको तर्फबाट डन क्विजोट अवार्ड पनि प्रदान गरिनेछ।

सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट सर्ट फिल्मलाई ५ सय डलरको बाग्मती अवार्ड प्रदान गरिनेछ।

नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार  र सर्टमध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ।

फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने छ।

यस पटकबाट निफका प्रतिस्पर्धी फिल्म सिनेमा हलमा प्रदर्शन गरिनेछ। देशको ठूलो मल्टिप्लेक्स च्यानल क्युएफएक्स सिनेमाको छाया सेन्टर सिभिल मल, लविम मल र भक्तपुर हलमा प्रदर्शन हुनेछ।

‘विगतमा हामीले महोत्सवका फिल्म गुणस्तरीय रूपमा प्रदर्शन भएन भन्ने गुनासो सुन्दै आएका छौं। कहिले साउण्ड राम्रो भएन त कहिले स्क्रिन राम्रो भएन। यस्तो गुनासो नहोस् भनेर हामीले यसपालि सिनेमा हलमै फिल्म प्रदर्शन गर्ने योजना बनाएका हौं,’ अध्यक्ष पाठकले भने।

निफमा विविध कार्यशाला, अन्तर्क्रिया र छलफल कार्यक्रमसमेत सञ्चालन हुनेछन्।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर शाह, दीपाश्री निरौला, गौरी मल्ल, निर्मल शर्मा, रेजिना उप्रेती, सरिता गिरीलगायत फिल्मकर्मी उपस्थित थिए।

अभिनेता निर शाहले निफ सम्झन योग्य चलचित्र महोत्सव भएको र नेपाल सरकारले यस्तो कार्यक्रमलाई सहयोग गर्नुपर्ने बताए।

‘विकास बोर्डका अध्यक्ष भुवन केसीलाई म अनुरोध गर्छु, कि यस कार्यक्रमलाई सहयोग गर्न सरकारसँग प्रस्ताव राखिदिनुहोस्,’ उनले भने।

अभिनेता शाहको प्रस्ताव सरकारसामु राख्ने बोर्डका अध्यक्ष केसीले बताए।

Comments are closed.