नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्कम श्रृंखलाको आफ्नो चौंथो तथा अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ ।
आईतबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा जितका लागि नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
नेदरल्याण्ड्सको जितका लागि बिक्रमजीत सिंहले अविजित रहँदै ५८ रनको अर्धशतकीय इनिङ खेल्दा मेक्स ओडाँडले २८, माइकल लेविटले ३९ र साइब्रान्ड एनगेलब्रेक्टले अविजित ४६ रनको योगदान दिए ।

नेपालका ललित राजवंशी र दिपेन्द्र सिह ऐरीले समान १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले अन्तिम ओभरको ३ बल बाँकी रहँदा अलआउट हुँदै १७२ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६, आसिफ शेखले १७, अनिल शाहले ७, रोहित पौडेल १६, आरिफ शेखले २२, करण केसीले २६ र गुलसन झाले ५ रन जोडेका थिए ।
नेदरल्याण्ड्सका विवियन किग्मा र आर्यन दत्तले समान ३, बास डी लिडेले २ तथा रुलोफ वान डेरले एक विकेट लिए । यससँगै नामिबिया र नेदरल्याण्ड्सको घरेलअमा श्रृंखलामा नेपालले मात्र १ खेल जित्दै २ अंक जोडेको छ ।
यसअघि नेपाल पहिलो खेमला नामिबियासँग ४ विकेटले पराजित भएको नेपाले दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराउँदा तेस्रो खेलमा पुनः नामिबियासँग २ विकेटले पराजित भएको थियो ।