भारतमा हुने साफ च्याम्पियनसिपका लागि नेपालको २३ सदस्यीय टोली घोषणा

काठमाण्डौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को अयोजनामा हुने १४ औं संस्करणको साफ पुरुष च्याम्पियनसिपका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बिहीबार २३ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

प्रशिक्षक भिन्सेन्जोले यसअघि बन्द प्रशिक्षणमा बोलाए ३० खेलाडी मध्ये ७ जनालाई बाहीर राख्दै अन्तिम टोली घोषणाा गरेका छन् ।

भारतमा आयोजना हुने च्याम्पियनसिपको समाूह ‘ए’ मा परेको नेपालले उद्घाटन खेलमा कुवेतको सामना गर्ने छ । प्रतियोगितामा सहभागि हुने आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा नेपालसँगै आयोजक भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।

नेपाल र कुवेतबिचको उद्घाटन खेल ब्याङ्गलोरमा असार ६ गते हुनेछ । यो खेल नेपाली समयानुसार दिउँसो ३स्४५ बाट शुरु हुनेछ ।

यस्तै नेपालले दोश्रो खेल असार ९ गते आयोजक भारत र समूह चरणको तेश्रो तथा अन्तिम खेलमा असार १२ गते पाकिस्तानविरुद्ध खेल्नेछ ।

भारतको ब्याङ्गलोरमा असार ६ देखि १८ गतेसम्म आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालसँगै, भारत, कुवेत, पाकिस्तान, बंगलादेश, भुटान, मााल्दिभ्स र बंगलादेशले भाग लिदैछन् ।

साफ च्याम्यिनसिपमा नेपाल साविक उपविजेता हो । डेढ वर्षअघि माल्दिभ्समा सम्पन्न १३ औं संस्करणको प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो ।

नेपालको अन्तिम टोलीः

गोलकिपरः किरण चेम्जोङ्ग, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ्ग, देवेन्द्र तामाङ्ग, निशान्त खड्का, रोहित चन्द, सिमन्त थापा

मिडफिल्डरः पुजन उपरकोटी, अरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लकेन लिम्बु, आभास लामिछाने

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर