देशको अर्थतन्त्र अझै पनि दबाबमुक्त भइसकेको छैन: पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थ तन्त्र अब संकटमुक्त भएको बताउनुभएको छ ।

माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार आयोजित उपत्यकाका केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूले सरकारको नेतृत्व गर्ने बेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो । ‘सरकारको मेहनतका कारण अर्थतन्त्र संकटमुक्त भएको छ, विदेशी मुद्राको सञ्चिति, राजश्व संकलन र परिचालन, पर्यटक आगमन, विप्रेषण लगायतका क्षेत्रका सूचक हेर्दा हामी प्रगति तिरै छौँ तर, अर्थतन्त्र अझै पनि दबाबमुक्त भइसकेको छैन, अर्थतन्त्रको दबाब हटाउने कुरा हाम्रा लागि सबैभन्दा ठुलो कार्यभार हुन आएको छ’, उहाँले भन्नुभयो ।

सामान्य वा टालटुले तरिकाले अर्थतन्त्रको दबाब हट्दैन भन्ने आफूलाई राम्रोसँग हेक्का रहेको प्रचण्डले बताउनुभयो । त्यसैले छिट्टै नेपाल सरकारका सबै मन्त्री, सचिव, निजी क्षेत्रका प्रतिनिधिहरू र आर्थिक क्षेत्रका विज्ञको बृहत् बैठकको आयोजना गर्ने उहाँले जानकारी दिनुभयो । उक्त अन्तरक्रियाको निष्कर्षलाई कार्य योजनामा ढाल्न विज्ञहरूको टिम बनाएर सोहीबमोजिम नीति र कार्यक्रम बनाउने उहाँले सुनाउनुभयो ।

नेपालको बजेट बनाउने प्रणाली र प्रक्रियाले अर्थतन्त्रलाई सहयोग नगरेको प्रचण्डको भनाइ  छ । परम्परागत ढङ्गले बनाइने नीति, कार्यक्रम र बजेटले देशको समस्या सम्बोधन गर्न नसक्ने उहाँले बताउनुभयो ।

नीति, कार्यक्रम पेश गरेपछि संशोधन नै नहुने, बजेट प्रस्तुत भएपछि रातो किताब हेरफेर नै नहुने प्रणाली र तरिका गलत भएको प्रचण्डले बताउनुभयो । ‘लोकतन्त्रमा सबै प्रस्ताव माथि छलफल हुन्छ, अन्तरक्रिया हुन्छ र संशोधन पनि हुन्छ, तसर्थ, आगामी वर्षको नीति, कार्यक्रम र बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छ, पहिला नीति, कार्यक्रम प्रस्तुत गर्ने, त्यसमाथि सांसदभित्र र बाहिरसमेत गम्भीर बहस गरेर मात्र संशोधनसहित पारित गर्नुपर्छ, बजेट पनि प्रस्तुत हुने बित्तिकै हेरफेर नभई पारित हुने पद्धति बदल्नुपर्छ, यस पटक हामी बदल्छौँ’, प्रचण्डले भन्नुभयो ।