वेस्टइन्डिजविरुद्धको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी

काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेस्टइन्डिजमाथि ६ विकेटको जित हात पारेको छ ।पाँच खेलको सिरिज भने वेस्टइन्डिजले ३/२ ले जित्न सफल भएको हो। १७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे । अन्तिम १२ बलमा जित्नलाई २२ रन चाहिँदा ओबेद म्याककोयलाई कुशल मल्लले तीन चौका, एक छक्का र एक लेग वाइको रुपमा चौका प्रहार गर्दै जित दिलाए।नेपालका ओपनर आसिफ शेखले ३५ बलमा २ चौका र ४ छक्कासहित ५१ रन बनाउँदै आउट भए । तेस्रो नम्बरमा आएका अनिल शाहले ४५ बलमा ४ चौका र ४ छक्कासहित ५८ रन बनाए ।
ओपनर कुशल भुर्तेललाई १३ रनमा नेपालले गुमाएको थियो । दोस्रो विकेटका लागि अनिल र आसिफले ९६ रनको साझेदारी गर्दै जितको आधार बलियो बनाएका थिए ।
दीपेन्द्रसिंह ऐरी ५ रनमा आउट भए । ओबेद म्याककोयले ३ र म्याथ्यु फर्डले १ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।