काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति– २०८१ ले सभापति कप फुटबल प्रतियोगिता गर्ने भएको छ ।
बिहीबार ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर नेता मोहनबहादुर बस्नेतले माघ १० गतेदेखि प्रतियोगिता हुने बताए ।
आयोजक समितिका संयोजक समेत रहेका पूर्वमन्त्री बस्नेतले प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ८ र आमन्त्रित २ विदेशी टोलीसहित १० पुरुष टिमको सहभागिता रहने बताए ।
अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् ।
माघ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइनेछ ।
समितिले दुर्गादत्त जोशी स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता माघ १८ गतेदेखि कैलालीको धनगढीमा आयोजना गर्ने बस्नेतले बताए ।
तीनदिने प्रतियोगिताको सिनियर र जुनियरतर्फ क्योरागीमा २० र पुम्सेमा ६ गरी २६ स्पर्धामा खेल हुनेछ ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउनेछन् ।
उत्कृष्ट पुरुष, महिला खेलाडी र निर्णायकलाई जनही १५ हजार नगदबाट पुरस्कृत गरिनेछ । नेपाल तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको उदीयमान खेलाडीले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।
कांग्रेस नेता एवम् संयोजक बस्नेतले नेपालमा प्रजातन्त्र स्थापना गर्न योगदान दिएका विभिन्न स्वर्गीय व्यक्तित्वहरूको सम्मानमा विभिन्न खेलका प्रतियोगिता पनि आयोजना गर्ने बताए । प्रतियोगितहरू नेपाल लोकतान्त्रिक खेलकुद संघले आयोजना गर्नेछ ।
कांग्रेसका नेताहरूको नाममा ठूलो धनराशीको पुरस्कारसहित पहिलो पटक खेलकुद प्रतियोगिता हुन लागेको छ ।