काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओत्से तुङले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार विश्व सन्दर्भमा र नेपाली क्रान्तिको लागि पनि मार्गदर्शकको रूपमा रहँदै आएको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय सर्वहारा वर्गका महान् नेता एवं विचारक माओत्से तुङको जन्म दिनका अवसरमा बिहीबार माओत्से तुङप्रति उच्च सम्मानसहित श्रद्धासुमन व्यक्त गर्दै प्रचण्डले उहाँको जन्म दिनलाई उत्सवका रूपमा मनाइरहेका संसारभरका श्रमजीवी प्रति शुभकामना व्यक्त गर्नुभएको छ ।
यति बेला नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषताअनुसार मूलभूतरुपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न आफूहरू सङ्घर्षरत रहेको प्रचण्डले उल्लेख गर्नुभएको छ । विगतमा आफ्नो नेतृत्वको सरकारले सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान यही राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनैतिक कदम भएको उहाँको दाबी छ । ‘हाम्रो पार्टीले आज पनि यसलाई कार्यान्वयन गर्न सदन र सडकको मोर्चाबाट खबरदारी गरिरहेको छ’, प्रचण्डले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
प्रचण्डले नेपाली कम्युनिष्ट एक हुनु आजको आवश्यकता भएको बताउनुभएको छ । ‘माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ’, उहाँले लेख्नु भएको छ ।
चीनको हुनान प्रान्तको साओसानमा सन् १८९३ डिसेम्बर २६ मा माओत्सेतुङको जन्म भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक माओत्से तुङलाई संसारभरिका वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजस्र श्रोतका रूपमा लिने गरिन्छ ।
माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको दिशामा अगाडि बढाउनुभएको थियो । त्यसैको जगमा उभिएर आज चीन विश्व शक्ति राष्ट्र बन्न सफल भएको छ ।