विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

आउँदो महिना जिम्बाब्वेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय टोली घोषणा गरेको हो । क्यानले यसपटक पनि अघिल्लो प्रतियोगितामा मौका पाएका खेलाडीलाई नै निरन्तरता दिएको छ ।

० टोलीले खेल्ने विश्वकप छनोट आगामी १८ जुनदेखि ९ जुलाईसम्म जिम्बाब्वेमा हुनेछ । विश्वकप छनोटमा नेपालसहित स्कटल्यान्ड, ओमान, यूएई, अमेरिका, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्याण्ड र नेदरल्याण्ड्स रहेका छन् ।

आइसिसीले १० टोलीलाई दुई समूह विभाजन गर्नेछ । अहिलेसम्मसमूह विभाजन गरिएको छैन । हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा हरेक टोलीले एकअर्काको सामना गर्नेछन् । जसबाट शीर्ष दुई टोलीले फाइनलको यात्रा तय गर्नेछन् । फाइनल पुग्ने दुई टोलीले भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने मौका पाउने छन् ।

नेपालको प्रारम्भिक टोली : कुशल भुर्तेल, आशिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरि, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, अविनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी र श्याम ढकाल ।

 

Comments are closed.