ह्वाट्सएपबाटअब एचडी क्वालिटीका फोटो पठाउन सकिने

काठमाडौं । ह्वाट्सएपमार्फत अब एचडी (हाइ डेफिनेसन) क्वालिटीमा फाेटाे पठाउन सकिने भएकाे छ । बुधबार एक ब्लग लेख्दै कम्पनीले एचडी फोटो पठाउन सकिनेगरी ‘एचडी फोटोज’ फिचर सार्वजनिक गरेको हो ।

यसअन्तर्गत प्रयोगकर्ताले डिभाइसले खिचेको फोटोको गुणस्तर कत्ति पनि नघटाएर ह्वाट्सएपबाट पठाउन सक्नेछन् । कम्पनीका अनुसार हाल यो अपडेट केही सीमित प्रयोगकर्तामाझ मात्र उपलब्ध छ । आगामी सातादेखि सम्पूर्ण प्रयोगकर्ताले प्रयोग गर्न पाउने कम्पनीको भनाइ छ ।

‘एचडी फोटोज’ फिचर ह्वाट्सएपको बेटा भर्सन आईओएस २३.११.०.७६ र एन्ड्रोइड २.२३.१२.१३ भर्सन अपडेट गरी प्रयोग गर्न सकिनेछ ।

ह्वाट्सएपले ब्लगमा स्क्रिनशट राख्दै यस फिचरले कसरी काम गर्छ भनेर देखाएको छ । स्क्रिनशटमा आफूले पठाउन चाहेको फोटो छानिसकेपछि माथि बायाँपट्टि ‘एचडी’को आइकन देखिन्छ ।

कम्पनीका अनुसार सो आइकनमा ट्याप गर्दा पपअप पेज खुल्छ । जसमा एउटा साधारण क्वालिटी र अर्को एचडी क्वालिटीको विकल्प रहेको हुन्छ । त्यसपछि एचडीको विकल्प छानेर ‘डन’ (Done) अप्सनमा ट्याप गरेको अवस्थामा एचडी फोटो पठाउन सकिन्छ ।

आफूले पठाएको फोटो एचडी क्वालिटीमा पठाइएको छ भने फोटोको अन्तिमतिर एचडीको आइकन देखिन्छ । techpana

Comments are closed.