नेपालयको नयाँ साहित्यिक प्लेटफर्म ‘ई–कविता’

काठमाडौँ — नेपालयले नेपाली कविताहरूको अनलाइन प्रकाशन गर्ने भएको छ । नेपालयले सुरु गर्न लागेको नयाँ साहित्यिक प्लेटफर्म ‘नेपालय ई-कविता’को संयोजन कवि श्रवण मुकारूङले गर्नेछन् । यो प्लेटफर्ममार्फत् कवि मुकारूङले नयाँ र पुराना कविहरूका, अप्रकाशित नयाँ सृजनाहरू प्रस्तुत गर्नेछन् ।

साप्ताहिक रुपमा सार्वजनिक हुने कविताहरू नेपालयको पेजमार्फत् निर्धारित शुल्क तिरेपछि फोन र कम्प्युटरमा सिधै उपलब्ध हुनेछन् । हरेक कविता पढ्न पाउनुका साथै कविकै स्वरमा वाचनसमेत सुन्न सकिने व्यवस्था छ ।

‘कोरोना महामारीले हाम्रो सामाजिक गतिविधि र स्वछन्द घुमफिरको स्वतन्त्रतालाई चुनौती दिएको महसुस गरायो । अरु सबै क्षेत्र जस्तै यसले, प्रकाशन र पाठकहरू पनि प्रभावित रहे,’ ‘ई–कविता’ को परिकल्पनामाथि प्रकाश पार्दै नेपालयका किरण कृष्ण श्रेष्ठ भन्छन्, ‘कला र साहित्यले हामीलाई कठिन समयमा सान्त्वना दिने माध्यमको रूपमा काम गरेको हुन्छ । हामीले क्वारन्टाइनको परिधिमा आफूलाई सिमित गरेसँगै, अनलाइनमा उपलब्ध खुराकमार्फत् धेरैले आफ्नो साहित्यिक भोकलाई व्यवस्थापन गरेको पायौं । कवि, कलाकारहरूले पनि आफ्ना सृजनाहरूलाई सहज रुपमा बाँडे । ती सत्रहरूमा देखिएको जनसहभागिता र चासो उत्साहजनक थियो । तर, यसरी प्रकाशित र प्रसारित हुने सृजनाले सर्जक र पाठक–श्रोता बीच सेतुको काम गरेपनि, व्यवसायिक व्यवस्थापनको टड्कारो आवश्यकताको पनि महसुस भयो ।’

‘ई–कविता’ का संयोजक मुकारुङले पनि यसको परिकल्पना पूर्व लकडाउन ताका, आफ्नो फेसबुक पेजबाट नियमित रुपमा ‘क्वारेन्टाइन कविता’ शीर्षकमा लाइभ सेसन चलाएका थिए । मुकारुङ भन्छन्- ‘कविता, लामो समयदेखि व्यावसायिक प्रकाशन जगतको प्राथमिकता क्रममा पछाडि रहेको साहित्यिक विधा हो । यस्तो स्थिति सिर्जना हुनुमा, पाठकहरूमा राम्रो कविताप्रति आकर्षण नभएर होइन । बरू, हामीले कविता लेख्ने र प्रकाशित गर्ने कामलाई व्यावसायिक बनाउन नसकेर हो । प्रकाशनका यस्ता नयाँ आयामले कविता लेखन र पठन सँस्कृतिलाई नै नौलो अवसर प्रदान गर्ने कुरामा म आशावादी छु । ‘ई-कविता’ले कविहरूलाई निश्चय पनि गरिमा र सम्मान प्रदान गर्दै सुसुचित बन्ने र किनेर पढ्ने पाठकको संगतमा पनि पुर्‍याउने छ ।’

सार्वजनिक भएको ई-कवितालाई नेपालयको पेजमार्फत भेट्न सकिन्छ । प्राविधिक विकास र व्यवस्थापन थुप्रै डटकमले गरेको नेपालयले जनाएको छ । ‘ई –कविता’को सुरुवात यही वैशाख १७ गते शनिबारदेखि सुरु भएको छ ।