काभ्रेको पनौतीमा निसान गाडी दुर्घटना, दुई जनाको ज्यान गयो

काठमाडौं । काभ्रेको पनौती नगरपालिका–२ स्थित सिलाभञ्ज्याङमा पराल लोड गरेको गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । घटनामा एक जना गम्भीर घाइते हुनुभएको छ ।

दुर्घटनामा परी गाडी चालक पनौती नगरपालिका–२ कुशादेवीका ४० वर्षीय रवीन आचार्य र बेथानचोक गाउँपालिका–२ का ५० वर्षीय शिवविक्रम केसीको ज्यान गएको प्रहरीले जनाएको छ ।

कुशादेवीबाट नयाँ–गाउँतर्फ पराल लिएर जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको निसान गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा परी बेथानचोक गाउँपालिका–२ की ४५ वर्षीया शारदा तिमल्सिना गम्भीर घाइते हुनुभएको छ ।

उहाँको सिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । गाडी ब्रेक फेल भएर सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।