बजेट प्रस्तुत गर्ने सहमति जुटाउन बसेको बैठकमा सहमति जुटेन

काठमाडौं । बजेट प्रस्तुत गर्ने सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवासमा बसेको शीर्ष राजनीतिक दल र कार्यदलको बैठक आइतबार बिहान पनि निष्कर्ष विहीन बनेको छ ।

प्रधानमन्त्री दाहालले संसद्को गतिरोध अन्त्य गरी मंगलबार बजेट प्रस्तुत गर्नका लागि सहज वातावरण बनाउनको लागि सहमति जुटाउने प्रयासमा बैठक बोलाउनुभएको थियो ।

छलफलमा कांग्रेसका उप सभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री जीवन परियारलगायतका नेता सहभागी हुनुहुन्थ्यो ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहेका कानुन मन्त्री पदम गिरी र प्रमुख सचेतक महेश बर्तौला सहभागी हुनुहुन्थ्यो ।

माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले र सन्तोष परियारलगायत सहभागी हुनुहुन्थ्यो ।

बैठकमा सहकारी ठगी घटनाको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेशमा सत्तापक्षको प्रस्ताव स्विकार्न नसक्ने अडान कांग्रेसले राखेको छ । कांग्रेसले सहकारी ठगीको छानबिनमा गृह मन्त्री रवि लामिछानेको नाम किटा नै गर्नुपर्ने माग राखेको छ ।