काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको मित्रतापूर्ण सम्बन्ध कसैले पनि बिगार्न नसक्ने बताएका छन् ।
दुई मुलुकबीचको सम्बन्ध कहिले काहीँ केही कारणले सानातिना दरार भए पनि सम्बन्धलाई स्थायी रूपमा सधैँका लागि कसैले पनि बिगार्न नसक्ने अध्यक्ष ओलीले बताएका हुन् ।
नेपाल–भारतमैत्री समाजले बुधवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई मुलुकबीचको सम्बन्धलाई खटपट हुन दिनु वाञ्छनीय नहुने पनि स्पष्ट पारे । अध्यक्ष ओलीले दुई मुलुकबीच देखिएका विद्यमान समस्या खुलस्त कुराकानी गरेर समाधान गर्नुपर्ने पनि दोहोर्याए । उनले न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई केन्द्रमा राखेर दुई मुलुकले आफ्नो सम्बन्धलाई अगाडि बढाउनुपर्ने बताए ।
उनले भने, ‘हाम्रा बीचको सम्बन्ध त अत्यन्त पुराना मित्रहरूको हो । प्रकृतिले दिएका मित्रहरू, इतिहासले बनाएका मित्रहरू र मैले कतिपय ठाउँमा भन्ने गर्छु–नेपाल र भारत बीचको सम्बन्ध कहिले कहिले, कुनै कुनै कारणले, थोरै घोचपेच भए पनि यस सम्बन्धलाई स्थायी रूपमा सधैँका लागि कसैले पनि बिगार्न सक्दैन । किनभने यो प्रकृतिले बाँधेको सम्बन्ध हो । यो समाजले बनाएको सम्बन्ध हो । यो इतिहासले बनाएको सम्बन्ध हो । यो कसैले निर्माण गरेको भन्दा, कुनै राज्यले निर्माण गरेको भन्दा, त्यसभन्दा अगाडिको सम्बन्ध हो । त्यसकारण यो बिगार्नै नसक्ने खालको सम्बन्ध हो । अव यसलाई खटपट हुन दिनु वाञ्छनीय हुँदैन । तसर्थ, हामी २१ औं शताब्दीमा छौँ । पारस्परिक सहयोग, साथ, पारस्परिक लाभको आधारमा एक अर्कालाई सर्पोट गर्ने कुरा र एक अर्काको सम्मानका साथ हामी हरेकको, हरेकलाई स्वाधीनता प्यारो हुन्छ भन्ने कुरा बुझेर नै हामी एक अर्कालाई मद्दत पनि गर्छौ । म जे चाहन्छु, अर्कोले त्यही चाहन्छ भन्ने कुरा हृदयङ्गम गरेर, आफू जस्तो चाहन्छ, अर्कोले पनि त्यही चाहन्छ भन्ने कुरालाई हृदयङ्गम गरेर नै हामी अगाडि बढ्छौँ ।’
अध्यक्ष ओलीले आफूहरू सधैँ समानता, पारस्परिक लाभ र सम्मानको पक्षमा रहेको स्पष्ट पारे । उनले भने, ‘मैले धेरै ठाउँ भन्ने गरेको छु–राष्ट्रिय हित हरेक देशले सोच्छ । राष्ट्रिय हित सोच्दा खेरी न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्व, राष्ट्रिय हितको पक्षपोषण गरिरहँदा, कुराकानी गरिरहँदा खेरी जष्टिस र इन्टरनेशनल अब्लिगेशन दुई वटा कुरालाई सँगसँगै राखिएन भने त्यो अन्धराष्ट्रवाद हुन्छ । आफ्नो हित गर्ने, अरूको हित जेसुकै होस् । आफ्नो हित गर्ने, न्याय जहाँसुकै परोस् । त्यस्तो होइन । हामी सदैव न्यायको पक्षमा छौँ । हामी सदैव समानताको पक्षमा छौँ । पारस्परिक लाभ र सम्मानको पक्षमा छौँ । र, सम्बन्धलाई साँच्चैको मित्रताको रूपमा अगाडि बढाउन चाहन्छौँ । हाम्रो ट्रेडिशन के हो भने कृष्ण र सुदामा भेट हुँदा को राजा महाराजा, को गरिब ? को कृष्ण, को सुदामा ? त्यो भेद रहेन । दुवैले अंकमाल गरेँ । हो, त्यो प्रकारको फ्रेन्डसिप हुन्छ । त यहाँनिर प्रश्न कृष्ण र सुदामाको छैन ।’
अध्यक्ष ओलीले भारतले ठूलाठूला प्रगति गरेको उल्लेख गर्दै खुशी समेत व्यक्त गरे । उनले दुवै छिमेकी सँगै हिँड्नु अनिवार्य शर्त भएको बताउँदै यसको कुनै विकल्प नरहेको जिकिर गरे ।
‘भारतले असाधारण प्रगति गरेको छ । यही ७६ वर्षको बीचमा । र, यी ७६ वर्षहरूमा उपनिवेश भएका बखत गरिब हुनु, भोकमरी हुनु, भोकानांगाको ठाउँ हुनु एउटा कुरा हो । भारत प्रकृतिको हिसाबले गरम ठाउँ भएको हुनाले कपडाको त्यति धेरै चिन्ता हुँदैन । थोरै कपडाले पुग्छ । र भोको हुनुको पीडा त जहाँ पनि उत्तिकै हुन्छ नि । त्यसकारण यो भोकमरीको पीडा, गरिबीको पीडा, पछौटेपनको पीडा कसरी आएको थियो भन्दा लुटिएर,’ उनले भने, ‘मैले भन्ने गर्छु–अहिले विभिन्न देशहरू भए । पहिले त यसलाई हिमवत खण्ड भनिन्थ्यो । त्यो हिमवत खण्ड असाधारण प्रगतिमा थियो । यहीबाट अनेक ज्ञानको सुरुवात अनेक कुराहरूको सुरुवात यहीबाट भएको थियो । हामी छिमेकी हौँ । र, मित्र हौँ । भारत हाम्रो मित्र हो । पहिलो कुरा हामीले यो बुझ्नु पर्यो–भारत मित्र हो । त्यसकारण लागेको कुनै समस्या भने भारतसँग हामीले खुलस्त भन्नु पर्यो । पूर्ववक्ता मित्रले भन्नु भएको थियो–भारतको विरोध गर्नु राष्ट्रवाद होइन । र, भारतको, कसैको पनि नाजायज ढंगले समर्थन, नाजायज ढंगको विरोध, मतभेद हुन सक्दछ । आफ्ना जायज इन्ट्रेस्टमा । त्यो कुरा खुलस्त छलफल गरेर समाधान गर्नु पर्छ । आफ्नो राष्ट्रिय हितलाई, जायज राष्ट्रिय हितलाई मर्का पर्नेगरी विषय छोड्नु र राष्ट्रले मर्का खप्नु पनि आवश्यक छैन । एउटा मित्रसँग हामीले किन मर्का खप्नुपरेको छ ? किन हामीले असमानता व्यहोर्नुपरेको छ र ? त्यो आवश्यक नै छैन । त्यसकारण हामीले खुलस्त कुरा गर्नु पर्छ । र, अर्को कुरा हामीले हामीसँगै छौँ । सँगै बाँच्नु छ, सँगै मर्नु छ । हामी त सँगै बस्नु छ । सँगै विकास गर्नुछ । सँगै अगाडि बढ्नु छ । मुख्य कुरा पारस्परिक लाभ, पारस्परिक सम्मान, पारस्परिक सहयोग र पारस्परिक सहयोग र सम्मान यो चिजको सन्तुलन आवश्यक छ । यसको आधारमा हामी अगाडि बढ्छौँ । बढ्नुपर्छ । र, हामीसँगै हिँड्नु त छँदैछ । सँगै हिँड्नु त अनिवार्य शर्त हो । यसको कुनै विकल्प छैन । त्यसकारण समस्याहरू छन् भने समाधान गर्दै अगाडि बढ्नुपर्छ ।’