काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका व्यवसायिक भवनहरु (निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स , मल), अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनु पर्ने भएको छ ।
महानगरपालिकाको आर्थिक ऐन २०८० ले यस्तो व्यवस्था गरेको हो । आवासीय वा व्यावसायिक भवनहरुमा रहेका/भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ बापतको शुल्क संकलन गर्न निषेध गरिएको महानगरले जनाएको छ ।
सेवाग्राही बाहेक अन्यसँग मात्र पार्किङ शुल्क लिन सकिने काठमाडौँ महानगरका मेयर बालेन शाहले जानकारी दिए । सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मेयर शाहले व्यावसायिक रुपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले १० वर्षसम्म सम्पत्ति कर छुटको व्यवस्था गरिएको बताए ।
पार्किङ प्रयोजन देखाएर नक्सा स्वीकृत गरी अन्य प्रयोजनमा प्रयोग गरे कारबाही गरिने उनले बताए ।
उनले भनेका छन्, पार्किङ गराउँदा क्षेत्रगत आधारमा स्पष्ट रेखाङ्कन गरेर प्रवेश र बहिर्गमन फरक फरक हुने गरी प्रविधि प्रयोग गरेर व्यवस्थापन गर्नुपर्ने छ । क्षेत्र र समयका आधारमा महानगर आफैँले वा निजी क्षेत्रको सहयोगमा पार्किङ सञ्चालन व्यवस्थापन हुनेछ ।