टिचिङअस्पताल भित्रै मापदण्डविपरीत औषधि पसल: महानगरले लगायो ताला

काठमाडौं । काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल)को कम्पाउण्डभित्रै मापदण्ड विपरित फार्मेसी सञ्चालन गरेको भेटिएपछि महानगरले ताला लगाएको छ ।काठमाडौं महानगरपालिकामा टिचिङ हस्पिटलअगाडि म्याद नाघेको औषधि बेचेको गुनासो आएपछि बुधबार महानगरको स्वास्थ्य विभागले अनुगमन गरेको थियो ।‘एक बिरामी बच्चालाई म्याद नाघेको औषधि बेचेको पाइयो । फार्मेसी सञ्चालन गर्नुपर्ने न्यूनतम मापदण्ड पालना पनि नगरेको पाइएपछि टिचिङको कम्पाउन्डमा रहेको पानोर्मा र पञ्जजन्य गरी २ वटा फार्मेसीमा ताला लगाएका हौं,’ महानगरकी निमित्त स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनले भनिन् ।
महर्जनका अनुसार फार्मेसीमा रहेको भ्याक्सिनलाई राख्नुपर्ने तापक्रमको मापदण्डमा नराखेको, अनुमतिबिनै नार्कोटिक्स ड्रग्सजन्य औषधी बेचिएको समेत पाइएको छ ।ताला लगाएका फार्मेसीहरुलाई महानगरले कानुन बमोजिम कारबाही र जरिवाना गरेर मात्रै टिचिङको कम्पाउन्ड बाहिर चलाउन दिने महर्जनले बताइन् । उनले टिचिङको कम्पाउन्डमा निजी फार्मेसी राख्न नमिल्ने नियम रहेको भन्दै अन्य फार्मेसीलाई पनि बाहिर बस्नुपर्ने बताइन् ।