दाहालको उपन्यास ‘मध्याह्न झुल्के घाम र गोधूली’ बजारमा

ईश्वर दाहालको औपन्यासिक कृति ‘मध्याह्न झुल्के घाम र गोधूली’ सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डमा सम्पन्न भएको उक्त कार्यक्रममा आख्यानकार बुद्धिसागर, लेखक वसन्त बस्नेत, समाजशास्त्री नारायणी देवकोटा र उपन्यासका ईश्वर दाहालद्वारा संयुक्त रुपमा पुस्तकको विमोचन गरिएको थियो ।
दाहालको यसअघि ‘तात्दैछन् चिसा मानचित्रहरु’ (उपन्यास) र ‘मेरा महान चित्रकारिता’ (कथासङ्ग्रह) प्रकाशित छन् । सिन्धुलीका लेखक दाहालले १९ वर्षको उमेरमा महाकाव्य लेख्नुभएको थियो ।
सोही अवसरमा आयोजित पुस्तक चर्चा कार्यक्रममा आख्यानकार बुद्धिसागरले पारम्परिक शैलीभन्दा फरक रुपमा लेखक दाहालले नयाँ शैलीको प्रयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो हाम्रो पुस्ताको कथा रहेछ । पात्रको कथा भन्ने शैली राम्रो लाग्यो ।”
लेखक तथा पत्रकार वसन्त बस्नेतले उपन्यासमा पत्रकारको मनोदशालाई झरिलो तरिकाले चित्रण गरेको बताउनुभयो । उहाँले पात्रहरूको परिवेश र अन्तरसंघर्षबारे उपन्यासमा मीठो शैली प्रस्तुत गरिएको चर्चा गर्नुभयो ।
उहाँले बाल्यकालदेखि समाजमा देखेका, भोगेका सामाजिक र राजनीतिक परिवर्तन र पात्रलाई उपन्यासमा उतार्ने प्रयास गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा परिवर्तन भए पनि सामान्य मानिसको आँखाले कसरी हेरिरहेको छ त ? त्यही आम मान्छेको आँखाबाट हेरेर उपन्यासमा उत्रने प्रयास गरेँ ।” साङ्ग्रिला बुक्सले उपन्यास बजारमा ल्याएको हो ।

 

Comments are closed.