काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् ।आइतबार वैदेशिक रोजगार कार्यालयको पत्रकार सम्मेलनमा श्रममन्त्री अर्यालले अबदेखि सबै प्रकारका श्रम स्वीकृत एक घण्टाभित्रै स्वीकृत हुने बताएका छन् ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले कार्यालय समयभित्र अनलाइनबाट कागजात पेस गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्नसक्ने प्रणाली विकास भएको उनले जानकारी दिए ।अनलाइनबाट सही तरिकाले कागजात पेस गरेको २ मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्नसक्ने अवस्था भएको तर प्रविधिका समस्या,प्रणाली,विद्युत र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत लिनसक्ने सकिने अवस्था भएको उनले बताए ।
वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले सम्पूर्ण कागजहरु अनलाइनबाट कागजात पेस गरी प्रक्रिया पूरा गरे एक घण्टामा श्रमिकको मोबाइलमा नै श्रम स्वीकृती पाउनसक्ने उनले बताए ।
‘वैदेशिक रोजगारीको लागि विदेशमा जान श्रमिकले लिने व्यक्तिगत, संस्थागत र अन्य सबै खालका श्रम स्वीकृत वैदेशिक रोजगार कार्यालयबाट एक घण्टामा स्वीकृत दिन्छौँ,’ उनले भने, ‘सेवाग्राहीले सबै डकुमेन्ट मिलाएर अपलोड गर्नुभयो भने मन्त्रालयको अध्ययनले सबै कागज तथा प्रमाणपत्रहरु आएको अवस्थामा २ मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्न सक्ने अवस्था भएको छ । एक जना श्रमिकले वैदेशिक रोजगारीमा जानको लागि २ मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृत पाउन सक्ने व्यवस्था गरौं । तर प्राविधि समस्या,प्रणाली,विद्युत र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत पाउने भनेका छौं ।’
श्रममन्त्री अर्यालले पछिल्ला दिनमा एउटा पनि श्रम स्वीकृति पेण्डिङमा नभएको दाबी गरे । सेवा दिनको लागि सरकारले आवश्यक प्रविधि र सफ्टवयेरमा समेत सुधार गरिरहेको उनले बताए ।
अहिले दैनिक रुपमा दुई सिप्टमा काम भइरहेको छ । बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म गरिएको र त्यसलाई पनि बिहान १० देखि ५ बजेसम्म नै गर्ने उनले बताए ।
मन्त्री अर्याललेपहिलो पटक यो प्रयास शुरूवात भएको भन्दै भोलिका दिनमा पनि यसले निरन्तरता पाउने बताए । वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्थाको आजदेखि अन्त्य भएको घोषणा गरे ।