काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र नेतालाई गाली गरेर जिम्मेवारी पुरा नहुने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा माओवादीको ‘२४ औँ जेल ब्रेक स्मृति दिवस’का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले माओवादी सशस्त्र द्वन्द्वको विषयलाई लिएर पश्चाताप गर्नु पनि ठिक नहुने बताउनुभयो । माओवादी द्वन्द्वले नै अहिलेको परिवर्तन भएको उहाँको दाबी छ । उहाँले अहिले पनि आफू वर्गसंघर्षकै क्रान्तिमा रहेको बताउनुभयो ।
माओवादी केन्द्र सरकारमा नपुगेको भए आठ हजारलाई सहिद घोषणा गर्ने काम हुन नसक्ने उहाँले बताउनुभयो । सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक पनि माओवादीकै पक्षमा आउने उहाँले बताउनुभयो ।
दाहालले अहिलेको सत्ता समीकरण पनि रणनीतिक र दूरगामी भएको बताउनुभयो । ‘अहिले सरकारको नेतृत्व गर्दै जुन नयाँ समीकरण गरेको छु, अहिले बढी त भन्न चाहन्न, त्यो रणनीतिक छ, यो दूरगामी छ, मेरो विश्वासमा क्रान्तिकारी पनि छ, जोखिम छ, चुनौती छ तर, यसले मात्र देशलाई सबै देशभक्त वामपन्थी र कम्युनिष्टलाई एक ठाउँमा केन्द्रित गर्न सक्छ र यसले मात्रै नेपाली मौलिकता विशेषताको समाजवादको बाटो कोर्न सक्छ भन्ने विश्वासको साथ म अहिले जनयुद्धको बेलामा भन्दा धेरै खटेको छु, बढी लडेको छु, लगातार घेरा तोड्ने लडाइँ जारी छ, म त लडिराखेकै छु’, उहाँले भन्नुभयो ।
उहाँले सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिन आवश्यक रहेको बताउनुभयो । माओवादी आन्दोलन, वामपन्थी र सिङ्गो राष्ट्रवादी शक्तिलाई एक ठाउँमा ल्याएर नेपाली मौलिक जनवादको बाटोमा अघि बढ्ने आत्मविश्वास नेतृत्वलाई भएको उहाँले उहाँको भनाइ छ । ‘माओवादी आन्दोलनलाई छिटोभन्दा छिटो एक ठाउँमा केन्द्रित गर्ने र सम्पूर्ण राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाइन्छ, यो आत्मविश्वास नेतृत्वलाई छ’, उहाँले भन्नुभयो ।
उहाँले यस विषयलाई गहिरो ढङ्गले बिचार गर्न नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । केही समय भित्रै माओवादी मात्र एक हुने होइन राष्ट्रवादी शक्तिलाई एक ठाउँमा राखेर नयाँ समाजवादी क्रान्ति तर्फ अघि बढाउने उहाँले विश्वास दिलाउनुभयो ।
आफ्नो आफ्ना डम्फु बजार बस्दा उपलब्धि खोसिने खतरा रहेको उहाँले बताउनुभयो । आँखा र कान बन्द गरेर बस्दा उपलब्धि गुम्ने उहाँको भनाइ छ ।