जीवनको लागि संगीत बाँच्नको लागि संगीत’ नाराकासाथ अन्तर्राष्ट्रिय लोक संगीत चलचित्र महोत्सव सुरु

जीवनको लागि संगीत बाँच्नको लागि संगीत’ नाराकासाथ अन्तर्राष्ट्रिय लोक संगीत चलचित्र महोत्सव सुरु गरिएको छ ।

नेपाल लगायत विश्वभरका लोकसंगीतलाई समेट्ने गरी अन्तर्राष्ट्रिय लोक संगीत चलचित्र महोत्सव सुरु गरिएको हो। ‘जीवनको लागि संगीत बाँच्नको लागि संगीत’ नाराका साथ जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबारदेखि सुरु गरिएको महोत्सवमा १० देशका १० वटा लोकसंगीतलाई चिनारी दिने चलचित्र तथा भिडियो डकुमेन्ट्रीहरू प्रदर्शन गरिएका छन् ।

नेपाली संगीत तथा संस्कृतिको विश्वव्यापी संरक्षण तथा विश्वका लोक संगीत एकै ठाउँमा बसेर अध्ययन/अवलोकन गरी देशमा सांगीतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले त्रिपुरेश्वरस्थित रहेको लोकबाजा संग्रहालयले अन्तर्राष्ट्रिय स्तरको लोक संगीत चलचित्र महोत्सव गर्दै आएको छ । महोत्सवको यो १२ औं संस्करण हो ।

लोकबाजा संग्रहालय र सांस्कृतिक संस्थानको सहकार्यमा गरिएको पछिल्लो महोत्सव लोक गायक कुमार बस्नेतको सम्मानमा समर्पित गरिएको महोत्सवका संयोजक रामप्रसाद कँडेलले बताए । यस वर्ष पहिलो दिन दीवंगत लोकसंगीतका सर्जकहरूप्रति श्रद्धा अर्पण गर्दै दीप प्रज्वलन गरिएको थियो । दीप प्रज्वलनपछि पहिलो र दोस्रो दिन छनोटमा परेका नेपाल लगायत विभिन्न देशका ‘विशुपति’, ‘भयाली’, ‘नोयम’ लगायत चलचित्रहरु प्रदर्शन गरिएका थिए । कँडेलका अनुसार आइतबार र सोमबार उपत्यकाका रहेका महत्त्वपूर्ण सांस्कृतिक सम्पदाहरूको अवलोकन तथा भ्रमण गरी महोत्सव समापन गरिने छ ।

महोत्सवमै संग्रहालयले यस वर्षको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ वरिष्ट लोकसंगीत अनुसन्धाता रामकृष्ण दुवाललाई समर्पण गरेको छ ।

यस वर्ष समाजशास्त्र तथा मानवशास्त्र अध्ययन, अनुसन्धानमा लागेका युवा जमात तथा संगीतकर्मीहरूको सहभागिता उत्साहजनक रुपमा रहेको कँडेलले बताए । विश्वभर लोकसंगीतको अध्ययन, अनुसन्धान तथा संरक्षणको कार्य न्यून रहेकाले यस्ता खाले महोत्सवले विश्वमा लोकसंगीतको अवस्था, अभ्यास तुलनात्मक रुपमा बुझ्न अवसर मिल्ने उनको विश्वास छ ।

‘विश्वभरका लोकसंगीत कस्ता छन् भनेर हामीले महोत्सवमा हेर्न पाएका छौं’, उनले भने,‘लोकसंगीतको अध्ययनले हाम्रो सांगीतिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।’ उनका अनुसार प्रत्येक महोत्सवको अहिलेसम्मको संस्करणमा तीन सयको हारहारीमा फिल्महरू प्रदर्शन गरिएका छन् । लोकबाजा संग्रहालयसँग हाल एक सय वटा लोकसंगीत सम्बन्धी फिल्महरू संग्रहीत छन् । यसले हाम्रा पूर्खाले गरेका प्राचीन संगीतका धुनहरू भावी हजारौं पुस्तासम्म लैजान सकिने उनको भनाइ छ ।

नेपालसहित भारत, अर्जेन्टिना, अमेरिका, क्यानडा, बेलायत लगायत देशहरूको सहभागिता रहेको महोत्सवमा विभिन्न सांगीतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरिएको थियो ।

Comments are closed.