सन् २०२२ मा एक करोड मानिस विस्थापित : राष्ट्रसंघ

राष्ट्रसंघले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार युद्ध, सशस्त्र द्वन्द्व, दैवी विपत्ति र जलवायु संकटका कारण विश्वका दसौँ लाख मानिस देशभित्रै वा बाह्य रूपमा विस्थापित भएका छन्। राष्ट्रसंघले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकाय (युएनएचसिआर)ले सन् २०२२ मा विश्वका एक करोड मानिस आफ्नो घर छोड्न बाध्य भएको जानकारी दिएको हो ।

युएनएचसिआरले उनीहरूलाई विभिन्न तरिकाले सहयोग गरिरहेको पनि बताएको छ । युएनएचसिआरका अनुसार यो वर्षको जाडो विश्वभरका लाखौँ ‘आप्रवासी शरणार्थी’का लागि निकै चुनौतीपूर्ण र कठोर हुनेछ । ‘हाम्रो विश्वले आन्तरिक विस्थापनको संकट सामना गरिरहेको छ । द्वन्द्व, विपत्ति र जलवायु संकटजस्ता त्रासदीका कारण विश्वमा देशभित्रै पनि मानिस उच्च संख्यामा मानिस विस्थापित भएका छन्,’ युएनएचसिआरले भनेको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गत जुनमा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय विस्थापनसम्बन्धी कार्ययोजना सार्वजनिक गर्दै आवश्यकता परेका मानिसलाई सहयोग पुर्‍याउनु सबैको जिम्मेवारी भएको बताएका थिए । युक्रेन, इथियोपिया, बुर्किना फासो, सिरिया र म्यानमारलगायत विश्वका धेरै भागमा हिंसा, गरिबी र लामो द्वन्द्व आप्रवासन विस्थापनका प्रमुख कारक हुन् ।

‘हजारौँ निराश आप्रवासीले युरोपलाई आफ्नो रोजाइको गन्तव्यका रूपमा हेरेका छन् । यसका लागि उनीहरूले मानव तस्करहरूको हातमा आफ्नो जीवन सुम्पेका छन् र भूमध्यसागर पार गर्न खतरनाक यात्रामा निस्केका छन्,’ युएनएचसिआरले भनेको छ ।

यमनमा लामो द्वन्द्व सुरु भएको सात वर्षभन्दा बढी भइसकेको छ । यहाँ द्वन्द्वका कारण ४३ लाखभन्दा बढी मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् । गत मे महिनामा संयुक्त राष्ट्रसंघको आप्रवासन एजेन्सी आइओएम र युरोपेली संघको मानवीय सहायता शाखा इकोले द्वन्द्वका कारण विस्थापित भएका तीन लाख २५ हजारभन्दा बढी आप्रवासी र उनीहरूलाई आश्रय दिने समुदायको आवश्यकता पूरा गर्ने प्रयासलाई तीव्रता दिने घोषणा गरेको थियो ।

यमनस्थित आइओएम अभियानकी प्रमुख क्रिस्टा रोटेनस्टाइनरले भनिन्, ‘यमनमा आप्रवासीहरू र विशेषगरी महिलाहरूको स्थिति थप खराब हुँदै गइरहेको छ । उनीहरू यमनमा स्वतन्त्रताविहीन भएर गम्भीर अवस्थामा बाँचिरहेका छन् ।’

सिरियामा युद्धले ११ वर्षदेखि जनजीवनलाई भयावह बनाइरहेको छ । सिरियामा जन्मिएका करिब ५० लाख बालबालिकाले देशमा कहिल्यै शान्ति देखेका छैनन् । जोर्डनले सिरियाबाट आएका ६ लाख ७५ हजार दर्ता भएका शरणार्थीलाई आश्रय दिन्छ । उनीहरूमध्ये अधिकांश स्थानीय समुदायको बीचमा जोर्डनका सहर र गाउँमा बस्छन् । जोर्डनको राजधानी अम्मानस्थित युएनएचसिआरका प्रतिनिधि डोमिनिक बार्ट्सले बताएअनुसार तत्काल उनीहरूको स्वदेश फिर्तीको सम्भावना छैन ।

सन् २०२० को नोभेम्बरमा सुरु भएको इथियोपियाको टिग्रे क्षेत्रको सशस्त्र द्वन्द्वका कारण त्यहाँबाट पनि लाखौँ मानिस विस्थापित छन् । पाँच वर्षअघि म्यानमारबाट आफ्नो घर छाडेर भागेका लाखौँ रोहिंग्या छिमेकी देश बंगलादेशको कक्स बजारस्थित शरणार्थी शिविरमा बसेका छन् । त्यहाँ करिब १० लाख शरणार्थी बस्छन् ।

Comments are closed.