प्याब्सनले भानु जयन्तीको अवसरमा उपत्यकाव्यापी कविता महोत्सव गर्दै

काठमाडौँ ।

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँले भानु जयन्तीको अवसरमा उपत्यकाव्यापी प्रथम कविता महोत्सव तथा साहित्य, स्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ । प्याब्सन काठमाडौँले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी गराएको हो ।

प्याब्सन काठमाडौँका सचिव सुदर्शन थापाले आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्म दिवसको अवसरमा आगामी असार २९ गते कार्यक्रमको आयोजना गरिने बताए । कार्यक्रमका संयोजक एवं प्याब्सन काठमाडौँका सह–कोषाध्यक्ष बिएन अधिकारीले बालसाहित्यको विकास, बालबालिकाभित्र रहेका अन्तर्निहित प्रतिभाको प्रस्फुटन, आदिकवि भानुभक्त आचार्यको सम्मान र स्रष्टाहरूको सम्मान नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।

बालसाहित्यको विकास गर्नु, बालबालिकाभित्र रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउनु, साथसाथै विद्यालयस्तरबाट नेपाली साहित्यको विकास गराउनु नै यो कार्यक्रमको उद्देश्य हो । आदिकवि भानुभक्त आचार्यको सम्मान गर्नु र नेपाली साहित्यमा कलम चलाउनेहरूको सम्मान गर्नु पनि यो कार्यक्रमको उद्देश्य हो,’ उनले भने । प्याब्सन काठमाडौँका अध्यक्ष एवं साहित्यकार प्रेमकुमार राईले साहित्य समाजको पथप्रदर्शक भएको बताउँदै बालबालिकाहरूमा साहित्यप्रतिको प्रेम जगाउनका लागि कविता महोत्सव गर्न लागिएको स्पष्ट पारे ।

कार्यक्रममा काठमाडौँ, भक्तपुर र ललितपुरमा रहेका निजी प्रत्येक विद्यालयबाट एक जना सहभागी हुने गरी ५०जना विद्यार्थी सहभागिता जनाउने बताइएको छ । साथै, उक्त कार्यक्रममा राष्ट्रियस्तरका दुई जना स्रष्टाहरूलाई सम्मान गर्न लागिएको पनि उनले बताए । कविता विद्यार्थी स्वयम्ले लेखेको हो, होइन भन्ने कुराको निर्णय गर्ने अधिकार निर्णायक मण्डलमा रहेको उनको भनाइ छ । कविता महोत्सवको निर्णायक मण्डलमा कविद्वय श्रवण मुकारुङ र प्रभा भट्टराई रहेका छन् ।

असार २९ गते बिहान प्रभातफेरी कार्यक्रमका साथ आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरी कार्यक्रमको सुरुवात गरिने बताइएको छ । प्रत्येक विद्यालयबाट एकजना विद्यार्थीका आधारमा सहभागी गराइने बताइएको छ । कविता कुनै पनि शीर्षकमा लेख्न सकिने र एक सय ५० शब्द नबढाई गद्य वा पद्य दुवै शैलीमा लेख्न सकिने आयोजकले बताएको छ ।

विद्यार्थीले लेख्ने कविता देशप्रेम, प्राकृतिक सौन्दर्य, प्रकृतिप्रेम, मानवता, समसामयिक चेतना झल्काउने प्रकृतिको हुनुपर्ने छ भने सहभागिता शुल्क एक हजार रुपैयाँ राखिएको छ । सहभागी हुन चाहने विद्यार्थीले असार २५ गतेभित्र काठमाडौँ प्याब्सनको इमेलमा कविता पठाउन आह्वान गरिएको छ । विद्यार्थीले रचना गरेको कविता प्याब्सन काठमाडौँको इमेल kathpabson@gmail.com मा पठाउनु पर्ने छ । मूल्याङ्कनको आधार लेखन र वाचन दुवैको आधारमा गरिने छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय पुरस्कारसहित अन्य ७ जनालाई सान्त्वना पुरस्कार प्रदान गरिने बताइएको छ ।

प्रथम पुरस्कार नगद १५ हजार, मेडल तथा प्रमाण, द्वितीय पुरस्कार नगद १५ हजार मेडल तथा प्रमाण, तृतीय पुरस्कार नगद १० हजार, मेडल तथा प्रमाण पत्र, चौथो र पाँचौं पुरस्कार नगद चार हजार, मेडल तथा प्रमाण रहेको छ । त्यसैगरी सान्त्वना पुरस्कार नगद तीन हजार र मेडल तथा प्रमाण–पत्र पाँच जनालाई प्रदान गरिने आयोजकले बताएको छ ।

पत्रकार सम्मेलनमा प्याब्सनका वरिष्ठ उपाध्यक्ष नवराज भट्ट, उपाध्यक्ष सूर्य भण्डारी, कोषाध्यक्ष आरबी अधिकारी, सहसचिवद्वय अनिल पराजुली, ओमप्रसाद ढकाल, प्याब्सन परीक्षा विभागका सचिव सूर्यबहादुर केसीलगायतको उपस्थिति रहेको थियो ।