‘परस्त्री’ असार १५ मा नेपाल र भारतसहित विश्वभर रिलिज हुने

काठमाडौं । शिल्पा मास्के, कोसिस क्षेत्री र गौरव विष्टको शीर्ष भूमिका रहेको फिल्म ‘परस्त्री’ आगामी असार १५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुने भएको छ । निर्माताले शुक्रबार चार नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् ।

बलिउड व्यापार समीक्षक तरण आदर्शले सबैभन्दा पहिलो पोस्टर सेयर गर्दै यो फिल्मको प्रदर्शन मिति घोषणा गरेका थिए । नेपाल र भारतको संयुक्त लगानीमा निर्माण भएको यो फिल्म उक्त मितिमा नेपाली र हिन्दी भाषामा रिलिज हुने निर्मात्री शर्मिला पाण्डेले जानकारी दिइन् ।

सार्वजनिक भएका चार पोस्टरमा शिल्पासहित प्रमुख कलाकार फिचर्ड छन् । ‘इरोटिक रोमान्स’ जनरामा निर्माण भएको यो फिल्मले विवाहेत्तर सम्बन्धको कथा पेश गर्छ । पोस्टरमा शिल्पालाई रोमान्टिक र हट अवतारमा प्रस्तुत गरिएको छ ।

यही फिल्मबाट निर्देशन करिअर थालेका सुरज पाण्डेका अनुसार यो फिल्म नेपालमा १०० पर्दा र भारतमा ५०० सय पर्दामा रिलिज हुने जनाइएको छ । पोस्टर सार्वजनिक गर्दै निर्मात्री पाण्डेले नेपाल र भारतसहित विश्वभर एकैसाथ रिलिज गर्ने जानकारी दिइन् । ‘हामीले प्रदर्शनका लागि पीभीआर मल्टिप्लेक्स चेनसँग पनि छलफल गरिरहेका छौं,’ निर्देशक पाण्डेले अनलाइनखबरसँग भने ।

डीएस डिजिटलको ब्यानरमा फिल्म निर्माण भएको हो ।

Comments are closed.