कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन भएको छ। गएराति काठमाडौं बानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो । उहाँलाई १०३° सम्मको ज्वरो आएको र आवश्यक औषधि खाएर निदाउनु भएको ११:३० बजेतिर गएर हेर्दा महाप्रस्थान गरिसक्नु भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । परशु प्रधानका ‘सबै बिर्सिएका अनुहार’ उपन्यासलगायत ‘यौटा अर्को दन्त्यकथा, फेरि आक्रमण, वक्ररेखा आदि १३ कथासङ्ग्रह प्रकाशित छन्। पछिल्लो समय उहाँले ‘सीताहरू’ शीर्षकमा शृङ्खलाबद्ध कथाहरू पनि प्रकाशित गर्नु भएको थियो।
केही वर्षदेखि मधुमेह र रक्तचापको उपचार गराइरहनु भएका उहाँका दुई छोरा र दुई छोरी रहेका छन् । वि.सं. २००० माघ ३० गते भोजपुरमा जन्मनु भएका कथाकार प्रधान ८० वर्षको हुनुहुन्थ्यो।