झापाको, दमकमा चीन-नेपाल मैत्री औद्योगिक पार्ककाे पीडीए चाँडै गरिने

काठमाडाैं । झापाको दमकमा शिलान्यास भएको चीन-नेपाल मैत्री औद्योगिक पार्क निर्माण प्रकिया अब अघि बढ्ने भएकाे छ ।

साे पार्क निर्माण थाल्न नेपाल र चीनबीच चाँडै नै परियोजना विकास सम्झौता (पीडीए) गर्ने सहमति भएकाे छ । याेसँगै पार्क निर्माण अघि बढ्ने आशा पलाएकाे छ ।

नेपालकै ठूलो र दक्षिण एसियाकै नमुना हुने भनिएको साे पार्कको एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधामन्त्री हुँदा ०७७ फागुन १६ गते शिलान्यास गर्नुभएकाे थियाे । तर एमालेकाे सरकार ढलेपछि साे पार्क निर्माण कार्य अगाडि बढ्न सकेकाे छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे चीन भ्रमणका क्रममा चीन-नेपाल मैत्री औद्योगिक पार्क निर्माण थाल्न चाँड‌ै पीडीए गर्ने सहमति भएकाे हाे । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा १३ बुँदे सम्झौतामा हस्ताक्षर भएको थियाे ।
साे सम्झाैतापछि नेपाल र चीनले संयुक्त रुपमा जारी गरेकाे प्रेस विज्ञप्तिकाे ८ नम्बर बुँदा पार्क निर्माणबारे पनि उल्लेख छ । ‘लगानी बोर्ड नेपाल र ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजिकल डेभलपमेन्ट जोन इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनीले पार्कलाई तीव्रता दिने र जतिसक्दाे चाँडाे पीडीए सम्झौतामा हस्ताक्षर गर्दै निर्माण सुरु गर्ने सहमति भएको छ’- विज्ञप्तिमा लेखिएकाे छ ।
चीनकाे बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत ५ वर्षमा निर्माण सक्ने भनिएको साे पार्क एमालेकाे सरकार ढलेसँगै अलपत्र छ ।
२०७६ साउन १७ मा बसेकाे लगानी बोर्ड बैठकले चीनको लगानीमा औद्योगिक पार्क निर्माण गर्ने निर्णय गरेको थियो । साेही अनुसार ०७६ असाेज १६ मा चिनियाँ कम्पनीसँग पार्क निर्माणका लागि समझदारी पत्रमा (एमओयू) मा हस्ताक्षर गरेको थियो ।
त्यसपछि पार्ककाे निर्माण र सञ्चालनको जिम्मा चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीलाई दिइएकाे थियाे । पहिलो चरणमा सय वटा उद्योग स्थापना गर्न ६४ अर्ब लगानी स्वीकृत पनि भइसकेकाे छ । बोर्डले कम्पनीलाई पार्कका लागि ६४ अर्ब रुपैयाँ भित्र्याउन स्वीकृति दिएको हाे ।
चीन सरकारको सहयोगमा झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाकाे संगमस्थल झर्कामा २२ सय बिघा जग्गामा निर्माण हुने साे पार्ककाे विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेकाे छ ।

करिब ३ वर्षअघि शिलान्यास भएकाे साे पार्क निर्माणका लागि अहिलेकाे सरकारले बल्ल चासाे देखाएकाे छ । ०८० भदाै ८ गते बसेकाे लगानी बाेर्डकाे बैठकले पार्कको परियोजना विकास सम्झौता (पीडीए) को अन्तिम मस्यौदा तयार गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको संयोजकत्वमा वार्ता समिति गठन गरेकाे छ